
पोखरा । प्रेस सेन्टर नेपाल कास्कीको शनिबार सम्पन्न छैटौं अधिवेशनले दिननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले पुष्प दाहाललाई खुला उपाध्यक्ष, शोभा बराललाई उपाध्यक्ष महिला, सरोज अधिकारीलाई सचिव, अर्जुन हितानलाई खुला सहसचिव, प्रतिभा अधिकारीलाई सहसचिव महिला तथा खगेन्द्रप्रसाद अर्याललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।
त्यस्तै, सदस्यमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्ररेल, कविता घर्तीमगर र प्रकाश बराल छन् ।
अधिवेशनले सुरेशराज अधिकारी, हेमराज अधिकारी, फणीन्द्र अधिकारी, रामजीप्रसाद आचार्य, मीनाकुमारी थापा, सन्देश श्रेष्ठ, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरञ्जीवी पौडेल (उत्तम), कृष्णमाया पोखरेल (शान्ति) र लीलानाथ आचार्यलाई प्रदेश परिषद् सदस्य चयन गरेको छ । केन्द्रीय परिषद् सदस्यमा कृष्ण दवाडी, रणबहादुर शाही (सिद्धान्त), पदम रेग्मी, नारायण शाही ढकुरी, सन्तोष परियार तथा श्यामसुन्दर पराजुली (राज) छनोट भए ।
अधिवेशन उद्घाटन गर्दै पूर्व उपप्रधान, गृहमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारमा आलोचनात्मक चेत हुनुपर्ने बताए । उनले नेपालमा हुने गरेको राजनीतिक भ्रष्टीकरण तोड्नु पर्ने भन्दै त्यसतर्फ कलम चलाउन पत्रकारहरुमा आग्रह गरे ।
राजनीतिक भ्रष्टीकरणका कारण नेपालमा पछिल्लोपटक भएका परिवर्तनको औचित्य पुष्टि नभएको तर्क गर्दै उपाध्यक्ष श्रेष्ठले जनजीविकामा सवाललाई उठान गर्न पत्रकारलाई सुझाव दिए । उनले पत्रकारिताको निष्ठावान् संगठनका रुपमा प्रेस सेन्टरलाई चिनाए ।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीले जनताको पत्रकार बन्न आग्रह गर्दै सेन्टरका पत्रकारले श्रमजीवी जनताको पक्षमा कलम चलाउनुपर्ने औँल्याए ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, माओवादी नेता विश्वप्रकाश लामिछाने, सेन्टर गण्डकी इञ्चार्ज दीपक श्रेष्ठ, गण्डकी अध्यक्ष अर्जुन काफ्ले, केन्द्रीय सचिव माधव पनेरु, गण्डकी प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष माधव रेग्मी लगायतले भनाइ राखे ।
उनीहरुले पत्रकारहरुमा मिडिया साक्षरता जरुरी रहेको भन्दै कास्कीको पत्रकारितामा सेन्टरकर्मीको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । पत्रकारिताले समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने भन्दै उनीहरुले त्यसमार्फत जनताका आवाज मुखरित हुने औंल्याए ।
कार्यक्रमबीच थमन महेश पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत भए । उनलाई २५ हजार तथा सम्मानपत्रसहित पुरस्कृत गरियो । त्यस्तै, अध्यक्ष कृष्ण दवाडीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष श्रीभद्र पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित अनुमोदन भयो ।