
पोखरा । कास्कीको मादी गाउँपालिका मा रहेको पर्यटकीय गाउँ सिक्लेसमा माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ति मेला आयोजना गरिने भएको छ। गुरुङ समुदायको परम्परा र संस्कृतिलाई उजागर गर्दै ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो मेला आयोजना गर्न लागिएको हो। खेलकुद र सांस्कृतिक कार्यक्रमहरू मार्फत आपसी भाइचाराको भावना बढाउँदै स्थानीय पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।
क्लबका अध्यक्ष भोलामान गुरुङका अनुसार मेलामा खुल्ला पुरुष भलिबल, महिला भलिबल, बास्केटबल, सामूहिक गुरुङ नृत्य र ठेलो प्रतियोगितालगायतका कार्यक्रमहरू आयोजना गरिनेछन्। खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ७० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलाको भलिबल प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। बास्केटबलमा पनि पुरुषतर्फ विजेता र उपविजेताले क्रमश १ लाख र ७० हजार नगद पुरस्कार पाउनेछन्।
गुरुङ भाषा गीतमा सामूहिक नृत्य प्रतियोगिता विशेष आकर्षण हुनेछ। यसमा विजेता समूहलाई ६० हजार, उपविजेता समूहलाई ४५ हजार, र तेस्रो हुने समूहलाई ३० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट भेषभूषा र नृत्य निर्देशकले ५–५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। ठेलो प्रतियोगितामा प्रथम हुनेले ४५ हजार र दोस्रो हुनेले ४० हजार नगद पुरस्कार जित्नेछन्।
मादी गाउँपालिका–१ वडाध्यक्ष देवीजंग गुरुङका अनुसार मेलाले सिक्लेसको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। “यो मेला गाउँमा मेलमिलापको वातावरण सिर्जना गर्न र ग्रामीण पर्यटनलाई थप विकसित गर्न विशेष भूमिका खेल्नेछ। क्हफुचे हिमताल, कोरी लेक, र गुरुङ सम्पदा पदमार्गजस्ता पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार यस मेलाको मुख्य उद्देश्य हो,” गुरुङले बताए।
पोखराबाट करिब ४० किलोमिटर दूरीमा रहेको सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित छ। यहाँ करिब २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने होमस्टे र होटलहरूको सुविधा उपलब्ध छ। गुरुङ जातिको पैतृक थलोका रूपमा परिचित सिक्लेसबाट क्होलासोथरसम्म एकै दिनमा पुग्न सकिन्छ।
चार दिनसम्म सञ्चालन हुने यो मेलाले करिब १३ लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा राखिएको छ। आयोजकले मेलालाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिहरू गठन गरेका छन्। खेलकुद, संस्कृति, र पर्यटनको समायोजनमार्फत सिक्लेसको पहिचान उजागर गर्न यो मेला विशेष अवसर हुने विश्वास गरिएको छ।