
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रथम दिक्षान्त समाराेहमा ४३ विद्यार्थीहरु दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीसँगै स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेनले विद्यार्थीहरूलाई दीक्षित गरे।
दीक्षान्त समाराेहमा प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले भने ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गर्दै अगाडि बढ्नेछौं ।’
ओलीले ऋषिमुनिहरूले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ लाई आधुनिक युगको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यका रूपमा व्याख्या गर्दै मुलुकमा भएका प्रगतिहरूको उदाहरण प्रस्तुत गरे।
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भनेर आलोचना गर्नेहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको उपलब्धिहरूले उत्तर दिएकाे बताए। ‘पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनु र यहीँबाट दक्ष जनशक्ति उत्पादन हुनु यो क्षेत्रका लागि मात्र होइन, देशका लागि पनि ठूलो उपलब्धि हो ।’ उनले भने- पोखरामा हालसम्म १४ जना बिरामीको सफल मिर्गौला प्रत्यारोपण हुनु प्रतिष्ठानको क्षमता र प्रतिबद्धताको प्रमाण हाे ।’
ओलीले नेपालको भूभागलाई प्राचीनकालदेखि ज्ञान र खोजको भूमि रहेको भन्दै आधुनिक चिकित्सा आरम्भ हुनु अगाडि नै यहाँ वेद–विज्ञान र प्राचीन चिकित्सा पद्धतिहरूको गौरवशाली इतिहास रहेको स्मरण गराए। उनले भने-‘हामीलाई रोक्न सक्ने कुनै कारण छैन। चीनले छोटो समयमा गरिबीको रेखामुनिबाट लाखौं जनतालाई माथि उठाएको छ। हामीले पनि यस्तै प्रतिबद्धता देखाउन सके नेपाल बन्छ।’
कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिष्ठानको योगदानलाई सराहना गर्दै सरकारको प्राथमिकतामा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षालाई थप उन्नत बनाउने रहेको बताए।
स्वीडेनका प्राध्यापक माग्नुस वेस्टग्रेनले प्रतिष्ठानका विद्यार्थीहरूले अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७६ सालदेखि शल्यचिकित्सा, मेडिसिन, बालरोग, स्त्री तथा प्रसूतीरोग, हाडजोर्नी, एनेस्थेसिया, र रेडियोलोजीजस्ता ७ विषयमा स्नातकोत्तर तहको अध्ययन सञ्चालन गर्दै आएको छ। हाल प्रतिष्ठानमा ९२ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन् भने यसै वर्षबाट एमबिबिएस कार्यक्रम सुरु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७२ सालमा साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आधारमा स्थापना भएको हो। प्रतिष्ठानले चिकित्सा शिक्षाको स्तरोन्नति र गुणस्तरीय सेवाका लागि नवीनतम प्रविधिको उपयोग गर्दै देशभर स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्याउँदै आएको छ।