
पोखरा । पोखराको फेवा फाँटमा माघ ६ गते पहिलो पटक ‘दाँई महोत्सव’ हुने भएकाे छ । पोखरा पर्यटन परिषदको आयोजना र मार्गी बगर टोल विकास संस्थाको सहकार्यमा महाेत्सव हुनेछ ।
महाेत्सवले परम्परागत खेती प्रणालीलाई पुनर्जीवित गर्न र पोखरालाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएकाे छ ।
तीव्र शहरीकरणले खेतीयोग्य जमिनको खण्डीकरण र परम्परागत खेतीप्रति युवापुस्ताको चासो घटाएको वर्तमान अवस्थामा दाईँ महोत्सवले पुरानो कृषि अभ्यासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ठोस प्रयास गर्ने आयाेजकले जनाएकाे छ ।
पोखरा पर्यटन परिषदले यसअघि १९औँ असारे रोपाइँ महोत्सव सफलतापूर्वक सम्पन्न गरी नेपालको परम्परागत खेती प्रणालीलाई पर्यटनसँग जोड्ने उदाहरण प्रस्तुत गरिसकेको छ।
यस पटकको दाँई महोत्सवले असारे खेती भित्र्याउने परम्परागत तरिकालाई झल्काउँदै नेपालभित्रका मात्र होइन, विदेशी पर्यटकलाई पनि यो अनौठो कृषि संस्कृतिसँग नजिक ल्याउने अपेक्षा गरिएकाे छ ।
पोखराका प्रसिद्ध फाँटहरू बिरुवा फाँट, कुँडहर, सेदिबगर, फेवा फाँटजस्ता स्थानमा तीव्र शहरीकरणले गर्दा उत्पादनमा आएको कमीप्रति जनचेतना फैलाउने र खेतीयोग्य जमिनको संरक्षणको आवश्यकता औँल्याउने महोत्सवको मुख्य उद्देश्य रहेकाे उद्धेश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
उनका अनुसार”सबै मौसमका लागि पोखरा” भन्ने नारालाई सार्थक बनाउन महोत्सवले पर्यटन प्रवर्द्धनमा थप योगदान दिनेछ। आन्तरिक तथा बाह्य पर्यटकले नेपालको परम्परागत कृषि प्रणाली र दाँईको अनुभव सँगाल्ने अवसर पाउनेछन्।
पोखरामा रहेका पर्यटकलाई सहभागी गराई यस उत्सवमार्फत नेपालको मौलिक परम्परा, असारे भाका, दही च्युराको स्वाद र परम्परागत दाईँ अनुभव गराउन विशेष कार्यक्रमहरू तय गरिएका छन्। महोत्सवले कृषकहरूलाई प्रोत्साहन गर्दै कृषि पर्यटनको अवधारणा अगाडि बढाउने र पोखरालाई सधैंभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
कार्यक्रमलाई सफल बनाउन पोखरा पर्यटन परिषदका सहकोषाध्यक्ष बाबुराम पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ। साथै, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रवर्द्धकमा छन्।
महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न स्थानीय, सरकारी निकाय, व्यवसायी र नागरिक समाज सबैको उत्साहजनक सहभागिता अपेक्षा गरिएको छ।