नयाँ फर्म्याटमा टाइगर कप: हारेका र जितेका टोलीको छुट्टाछुट्टै लिगमा प्रतिस्पर्धा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता यस वर्ष नयाँ फर्म्याटमा आयोजना गर्न लागिएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि सुरु हुने प्रतियोगितामा १२ टोली सहभागिता जनाउनेछन्, जसमा पुरुष र महिलातर्फ ६–६ टोली रहेका छन्।

प्रतियोगितामा पहिलो चरणको खेल नकआउट प्रणालीमा हुनेछ। तीन खेलमा जित्ने टोली एक समूहमा पर्नेछन् भने हार्ने टोली अर्काे समूहमा। त्यसपछि दुवै समूहमा लिग प्रणालीमा खेलाइनेछ। प्रत्येक टोलीले दुई खेल खेल्नेछन्।

लिगको आधारमा समूहको शीर्ष स्थान प्राप्त गर्ने टोलीले क्वालिफायर खेल्नेछन् भने तेस्रो स्थानको टोली एलिमिनेटर खेल्नेछन्। हारेका टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोली पनि एलिमिनेटर खेल्नेछन्।

एलिमिनेटर खेलको विजेता दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो क्वालिफायरको विजेताले फाइनलको यात्रा सुनिश्चित गर्नेछ। पराजित टोलीले एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछन्।

प्रतियोगिता अन्तिम चरणमा पुग्ने टोलीहरूलाई फाइनल खेलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुनेछ।फाइलन खेल माघ १९ गते हुनेछ। यस नयाँ फर्म्याटको लक्ष्य प्रतियोगिता र रोमांचको स्तरलाई अझ उचाइमा पुर्याउनु हो।

प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुनेछ । उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।

भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्