व्यापार मेलामा सम्भावनाको बहस : पाखुरीमा दम भए, देशमै रोजगारी सम्भव छ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसरमा ‘पाखुरीमा दम भए, यहीँ सबै छ !’ भन्ने विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा युवाहरुलाई नेपालमै रोजगारी सिर्जना गर्ने अवसर र चुनौतीका बारेमा विस्तृत छलफल गरियो।

कार्यक्रमका सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले स्याङ्जाका कृषक फणिनारायण अर्याल र व्यवसायी कोमलजंग कुँवरको उदाहरण प्रस्तुत गर्दै भने, “अर्यालले सुन्तला खेतीबाट वार्षिक ८५ लाख आम्दानी गर्नुहुन्छ, भने ठेलाबाट व्यवसाय सुरु गरेका कुँवरले हाल २२ वटा शाखा स्थापना गरी ७२० जनालाई रोजगारी दिन सफल भएका छन्।”

कार्यक्रममा पोखरा प्राविधिक शिक्षालयका प्रिन्सिपल हर्कलाल श्रेष्ठ, व्यवसाय प्रवद्र्धन केन्द्रका निर्देशक नवराज अधिकारी, र पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष अमृत पोखरेलबीच युवालाई सीपमूलक तालिम, रोजगारीका अवसर र व्यवसायिक सम्भावनाका विषयमा छलफल भएको थियो।

संघका महासचिव शोभा गौतमका अनुसार, युवाहरुमा स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर पहिचान गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। पोखरेलका अनुसार, विद्युत् क्षेत्रमा अपार सम्भावना रहे पनि सीपयुक्त जनशक्ति विदेशिने क्रम जारी छ।

हाल ३०० भन्दा बढी व्यक्तिले विद्युत् क्षेत्रमा काम गरिरहे पनि अधिकांश अवसरको खोजीमा बाहिरिन बाध्य छन्। तालिमको गुणस्तर सुधार्न र दक्ष जनशक्ति उत्पादन गर्न कम्तीमा ३ महिनाको व्यावहारिक तालिम आवश्यक रहेको पोखरेलले बताए।

व्यवसाय प्रवद्र्धन केन्द्रका निर्देशक नवराज अधिकारीका अनुसार, हाल स्थानीय तहहरुले सीपमूलक तालिम सञ्चालन गर्दै अपनत्व महसुस गर्ने कार्यक्रम ल्याएका छन्। “हाम्रो कार्यालयमार्फत १४ सयभन्दा बढी युवालाई तालिम दिइसकेका छौँ। तर, तालिमपछि उद्यमशीलताको अवसर नबढाएसम्म अपेक्षित परिणाम प्राप्त हुँदैन,” उनले भने। छोटा तालिमहरुले अर्धदक्ष जनशक्ति उत्पादन गरे पनि उद्यमशीलताको वातावरण निर्माण गर्न अझ प्रभावकारी पहल आवश्यक रहेको अधिकारीको धारणा छ।

पोखरा प्राविधिक शिक्षालयका प्रिन्सिपल हर्कलाल श्रेष्ठले युवाहरुलाई नेपालमै सम्मानजनक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। हाल युवाहरु तालिम लिएर पनि विदेश जाने सोच बनाइरहेको अवस्थामा परिवर्तन आवश्यक रहेको उनले बताए। ७० प्रतिशत विद्यार्थी पासपोर्ट र भिसा लिएर बारिष्टा तालिम लिन आउनु दु:खद तथ्य रहेको श्रेष्ठले उल्लेख गरे। उनी भन्छन्, “नेपालमै अवसर प्रसस्त छन्, तर श्रमको सम्मान गर्ने संस्कारको विकास हुन आवश्यक छ।”

व्यवसाय प्रवद्र्धन केन्द्रका अधिकारीले रोजगार सिर्जना गर्न तालिम मात्रै पर्याप्त नहुने भन्दै सीपसँगै उद्यमशीलतालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। उनले पोखरा महानगरपालिकाले व्यवसाय सुरु गर्न चाहनेका लागि पूँजी, तालिम र व्यावसायिक सल्लाह उपलब्ध गराउने कार्यक्रम ल्याएको जानकारी दिए। पोखरामा व्यवसाय दर्ताको दर न्यून रहेको र धेरै व्यवसायीले उचित योजना नबुझेर व्यवसाय थाल्दा असफल भई विदेश जान बाध्य हुने गरेको उनले बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले नेपालमै उद्यमशीलता र सीपयुक्त रोजगारी सम्भव रहेको तर युवा पुस्ताले विदेशलाई प्राथमिकता दिइरहेको चिन्ता व्यक्त गरे। पर्यटन, कृषि, सूचना प्रविधि, स्वास्थ्यजस्ता क्षेत्रमा प्रचुर सम्भावना रहे पनि दक्ष जनशक्तिको अभावका कारण अवसरहरु उपयोग हुन नसकेको सहभागी वक्ताहरुले औंल्याए।

नेपालमै रोजगारी सिर्जना गर्न श्रमको सम्मान, व्यावसायिक योजना र सीपयुक्त तालिम आवश्यक रहेको निष्कर्ष कार्यक्रममा निकालिएको थियो। “पाखुरीमा दम भए, अवसर नेपालमै छ” भन्ने नारासहित युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर खोज्न र उद्यमशीलता विकास गर्न आह्वान गरिएको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्