नेपालले पहिलो पटक जित्यो ‘टी-२० सिरिज’को उपाधि

  • ख-
  • ख+

काठमाडौं । नेपालले पहिलो पटक घरेलु मैदानमा त्रिदेशीय ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो।

नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो।

दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो।

नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो। यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो।

नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अद्र्धशतक प्रहार गरे। सिरिजमा उनले चौथो अर्धसतक प्रहार गरे।

एउटै सिरिजमा चौथो अर्धसतक बनाउने उनी पहिलो खेलाडी बनेका छन। भुर्तेलले ७७ रन बनाए।

उनले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हाने। यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए।

कुशल मल्लले अद्र्धशतक प्रहार गरे। उनले २४ बलमा अविजित ५० रन बनाए। सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हाने।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए। उनले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरे।

बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिए। विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले शुरुआतदेखि नै विकेट गुमाउँदै गयो।

नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो। उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो।

नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाए। यस्तै कप्तान पिटस शेलारले १३ रन बनाए।

अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिए।

उनले अविजित २६ रनको योगदान दिए। अन्य खेलाडीले भने रन बनाउन सकेनन्। नेदरल्याण्डसका दुई खेलाडी रनआउट भए।

बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए।

लामिछानेले आज पनि उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिए। लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन। उनले पाँच खेलमा १३ विकेट लिए।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
wechat sharing button
print sharing button

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्