नेपालको पर्यटन प्रवर्द्धनकाे लागि टान गण्डकीद्वारा परराष्ट्र मन्त्रालयलाई सात सुझाव

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले परराष्ट्र मन्त्रालयलाई सात बुँदे सुझाव दिएकाे छ ।

टानले नेपालको पर्यटन, निर्यात व्यापार, र लगानी प्रवर्द्धनमा विदेशी कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहेको औंल्याउँदै टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वकाे टिमले सुझाव पेश गरेकाे हाे ।

टान गण्डकीले नेपालको प्राकृतिक, सांस्कृतिक, र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आवश्यक रणनीतिक योजनाहरू तयार गर्नुपर्नेमा जोड दिँदै विदेशी नियोगहरूसँग सहकार्य र समन्वयमार्फत पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको छ।

टानले अन्नपूर्ण, धौलागिरी, मनास्लु, र सगरमाथा जस्ता प्रमुख हिमालहरूको पर्वतारोहण दिवसको अवसरमा अन्तर्राष्ट्रिय मिडिया र पर्यटन व्यवसायीहरूलाई निमन्त्रणा गरी नेपालको पदयात्रा क्षेत्रको महत्त्व झल्काउन सुझाव दिएको छ।

यसका साथै, अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रवर्द्धन गर्ने गुणस्तरीय ब्रोसर, भिडियो, र डिजिटल सामग्री तयार गरी कूटनीतिक नियोगमार्फत विश्वभरका सरोकारवालाहरूलाई उपलब्ध गराउनुपर्नेमा सुझाव दिइएको छ।

नेपालमा आयोजना हुने प्रमुख उत्सवहरू, पर्वतारोहण दिवसहरू, र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रममा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई सहभागी गराउन विशेष पहल गर्नुपर्ने सूझावपत्रमा उल्लेख छ।

टान गण्डकीले परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डबीच बलियो समन्वय आवश्यक रहेको बताउँदै, पर्यटन प्रवर्द्धन केन्द्र स्थापना गरी नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी बनाउने काम अघि बढाउन आग्रह गरेको छ।

पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न विशेष अभियान सञ्चालन गर्नुका साथै नेपाली हस्तकला र कृषि उत्पादन जस्ता निर्यातजन्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाइएको छ।

विगतमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधि सञ्चालन गरेको बताउँदै टान गण्डकीले भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्