पोखरामा गण्डकी स्वजागरण उत्सव तथा विराट चक्र विज्ञान कार्यक्रम आयोजना हुँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा गण्डकी स्वजागरण उत्सव तथा विराट चक्र विज्ञान कार्यक्रम आयोजना हुने भएको छ। जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा गण्डकी स्वजागरण उत्सव आगामी १० फागुनमा पोखरा रंगशालामा हुँदैछ।

उत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए। प्रतिष्ठानका गण्डकी संयोजक गंगा पोखरेलका अनुसार कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ।

त्यसैगरी, ११ फागुनदेखि १७ फागुनसम्म विराट चक्र विज्ञान कार्यक्रम सञ्चालन हुनेछ। गुरु एलपी भानु शर्माले खुशी, शान्ति र स्वास्थ्यका लागि यो कार्यक्रम महत्वपूर्ण रहने बताए। शरीरका हरेक अंगको भिन्न-भिन्न कार्यक्षमता रहेकाले तिनलाई सक्रिय पार्न आवश्यक रहेको उनको भनाइ छ। जीवन चक्र विज्ञानले नै मानसिक, शारीरिक तथा भावनात्मक समस्याहरूको समाधान दिने विश्वास उनले व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यी कार्यक्रमहरू पोखराका लागि विशेष महत्त्वपूर्ण रहेको बताए। पोखरा भ्रमण वर्षको अवसरमा आयोजना हुने भएकाले यसलाई अभियानका रूपमा अगाडि बढाइने उनले जानकारी दिए। पोखरामा हुने कार्यक्रमहरू सम्पूर्ण पोखरेलीका साझा कार्यक्रम हुने हुँदा सबैको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।

स्वजागरण उत्सव तथा विराट चक्र विज्ञान कार्यक्रममा सहभागिताले तनाव, रोग तथा चिन्ता न्यून भई उच्चतम खुसीको अनुभूति गराउने, शरीर, मन र चेतना स्वस्थ, सक्रिय र ऊर्जावान बनाउने विश्वास गरिएको छ। यसबाहेक, आध्यात्मिक साधनामा स्पष्टता ल्याउने, आत्मविश्वास, साहस तथा उत्साहमा वृद्धि गर्ने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए।

गण्डकी स्वजागरण उत्सवमा सहभागी हुन दर्ता गराउनुपर्नेछ तर कुनै शुल्क लाग्ने छैन। तर, विराट चक्र विज्ञान कार्यक्रममा सहभागी हुनका लागि १० हजार रुपैयाँ शुल्क लाग्ने आयोजक जीवन विज्ञान प्रतिष्ठानले जनाएको छ। सो शुल्क भोजन प्रयोजनका लागि लिइने जानकारी दिइएको छ।

नेपालमा जन्मिएर ७० भन्दा बढी देशहरूमा फैलिएको जीवन विज्ञान प्रतिष्ठानले हालसम्म ४० लाखभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ। जीवन विज्ञान अध्यात्मको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक तथा चेतनागत स्वास्थ्य सुधार गर्न, कार्यक्षमता अभिवृद्धि गर्न र तनावमुक्त जीवन जिउने कला सिकाउने अभियानमा समर्पित रहेको प्रतिष्ठानले जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्