
पोखरा । मोफोसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको तयारी पूर्ण भएको छ । पोखरा रङ्गशालामा मंगलबारदेखि शुरु हुने प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी दिएको हो ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिमहरू प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालका प्रमुख क्लबहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज क्लब युके, सहारा क्लब पोखरा, थ्रीस्टार क्लब, एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, उज्वेकिस्तानको बल्याक बुल्स फुटबल क्लब र संकटा क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताका विजेताले १२ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ६ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक हिमश्री फूड्सका निर्देशक किरण केसीले आफ्ना बुवा स्वर्गीय सूर्यबहादुर केसीको योगदानलाई सम्मान गर्दै फुटबलको विकासमा निरन्तरता दिने प्रतिवद्धता जनाए ।
सहारा क्लबका अध्यक्ष केशवराज बरालले क्लबको जर्सी र प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै यस प्रतियोगिताले पोखरामा फुटबलप्रेमीहरूको उत्साह र सामूहिक सहभागिता थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
उनले प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च हुने बताए । एकेडेमीमा अहिले १६ जिल्लाका ३० जना बालकहरूले प्रशिक्षण लिइरहेका छन्।
पत्रकार सम्मेलनमा पोखरा ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, हिमश्री फूड्सका निर्देशक प्रकास केसी र सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए।
प्रतियोगिता हेर्नका लागि टिकट मूल्य प्रि–क्वाटर र क्वाटरफाइनल खेलमा १ सय, सेमीफाइनलमा २ सय र फाइनलमा ३ सय निर्धारण गरिएको छ । भिआइपीको लागि टिकट मूल्य प्रि–क्वाटर र क्वाटरफाइनल खेलमा २ सय, सेमीफाइनलमा ४ सय र फाइनलमा ५ सय हुनेछ ।
यस प्रतियोगिताले पोखरामा फुटबलको भविष्य उज्जवल बनाउने र खेलप्रेमीहरूलाई नयाँ उमंग र ऊर्जा दिने विश्वास गरिएको छ ।