कान्तिपुर डेन्टल हस्पिटलले मनायाे रजतजयन्ती

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड कान्तिपुर डेन्टल हस्पिटलले स्थापनाकाे २५ ओैं वार्षिकाेत्सवकाे अवसरमा रजतजयन्ती मनाएकाे छ ।

नेपालमा दन्त स्वास्थ्यको नेतृत्व गर्दै आएको कान्तिपुर डेन्टल हस्पिटलले स्मारिका विमाेचन सहित रजत वर्ष मनायाे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कान्तिपुर डेन्टल हस्पिटलले नेपालका विद्यार्थीहरूलाई दन्त विज्ञान अध्ययनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न उत्प्रेरित गरिरहेको बताए। उनले युवाहरूलाई योग्य, दक्ष नागरिक बनेर देशको सेवा गर्न आग्रह गरे। “नेपाललाई अन्य विकसित मुलुकहरूको स्तरमा पुर्‍याउने जिम्मेवारी हाम्रो पुस्तामा छ,” उनले भने ।

कान्तिपुर डेन्टल हस्पिटलका चेयरम्यान डा. बुद्धिमान श्रेष्ठले संस्थाको २५ वर्षको यात्राबारे प्रकाश पार्दै स्वास्थ्य क्षेत्रमा कान्तिपुरले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए। जति धेरै काम गरिन्छ, त्यति नै स्टामिना बढ्छ भन्दै उनले कान्तिपुर डेन्टलले नेपालमा सबैभन्दा बढी आउटरिच कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे।

उनले मुख तथा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न कान्तिपुरले विद्यालयदेखि गाउँगाउँसम्म निःशुल्क शिविर सञ्चालन गर्दै आएको बताए।

कान्तिपुर डेन्टल हस्पिटलकी प्रिन्सिपल श्रेया थापाले कान्तिपुर डेन्टल स्वास्थ्य सेवा मात्र नभई समाजसेवाको भावनाले अगाडि बढिरहेको संस्थाका रूपमा परिचित भएको बताइन्। “हामीले समाजका सबै वर्गका लागि समान पहुँचको सेवा सुनिश्चित गरेका छौँ,” उनले भनिन्।

उनले कान्तिपुरले विशेष गरी निम्न आय भएका तथा ग्रामीण क्षेत्रका नागरिकहरूलाई लक्षित गरी निःशुल्क चेकअप, उपचार र सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताईन् ।

पोखरा विश्वविद्यालयका फ्याकल्टी अफ हेल्थ एन्ड साइन्सेसका डिन डा. अमर नागिलाले कान्तिपुर डेन्टल हस्पिटलको यात्रा चारवटा कुर्सीबाट सुरु भएर आजको सफलतासम्म आइपुग्नु कुनै सामान्य उपलब्धि नभएको बताए। गण्डकी प्रदेशभर कान्तिपुर डेन्टलले पुर्‍याएको सेवाले जनमानसमा सकारात्मक प्रभाव पारेको उनको भनाइ थियो।

कान्तिपुर डेन्टल हस्पिटलका सीईओ प्रतीकमान श्रेष्ठले सन् २००४ मा चारवटा कुर्सीबाट सुरु भएको यो यात्रा हाल नेपालकै दन्त स्वास्थ्य क्षेत्रको अग्रणी संस्थाका रूपमा स्थापित भइसकेको बताए। “हाम्रो उद्देश्य उपचार मात्र नभई रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नु हो,” उनले भने। कान्तिपुर डेन्टल हस्पिटलले दन्त उपचार प्रविधिमा नवीनता ल्याउँदै नेपालका दुर्गम क्षेत्रसम्म सेवा पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए।

कान्तिपुर डेन्टल हस्पिटलले २५ वर्षको आफ्नो यात्रामा लाखौँ बिरामीलाई उपचार प्रदान गरिसकेको छ। संस्थाले ग्रामीण क्षेत्रका नागरिकहरूका लागि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

दन्त विज्ञानमा नवीन प्रविधिहरू भित्र्याउँदै कान्तिपुरले डिजिटल डेन्टिस्ट्री, इम्प्लान्टोलोजी र अत्याधुनिक लेजर ट्रीटमेन्टजस्ता प्रविधि प्रयोग गरेर नेपाली जनतालाई उच्चस्तरको सेवा दिइरहेको छ।

२५ वर्षअघि न्युरोड, पोखरामा पाँचवटा डेन्टल केयरबाट सुरु भएको कान्तिपुर डेन्टल हस्पिटल हाल २० वटा अत्याधुनिक डेन्टल केयरमा विस्तार गरेकाे छ।

कान्तिपुरले मुख तथा दन्त स्वास्थ्यका क्षेत्रमा नेपालकै अग्रणी संस्था बनेर सेवा दिइरहेको छ। कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेसले दन्त विज्ञानसम्बन्धी चार प्रमुख विषयमा शिक्षण प्रदान गर्दै देशभर दक्ष दन्त चिकित्सक उत्पादन गरिरहेको छ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, विद्यार्थी, चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्