ओलीसँगको सम्बन्ध पुरानै हो, अविश्वास गर्नुपर्ने कारण छैन: देउवा

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई अविश्वास गर्ने कुनै कारण नभएको बताएका छन्।

पोखरामा आयोजित ७७ वटै जिल्लाका कांग्रेस सभापतिहरू र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले ओलीसँगको पुरानो सम्बन्ध सम्झिए। “ओली र म सँगै जेलमा बसेका साथी हौँ। त्यतिबेला धेरै दुःख सह्यौँ, छुट्ने कुनै सम्भावना थिएन। झापा काण्डका कारण जेलभित्रकै जेलमा राखिएको थियो। हामी प्रतिस्पर्धी हौँ, तर अविश्वास गर्ने ठाउँ छैन,” उनले भने।

उनले कांग्रेस र एमाले दुवै लोकतन्त्रका लागि लडेको इतिहास भएकाले सहकार्य आवश्यक रहेको बताए। “राजनीतिक स्थिरता जरुरी छ। दुई ठूला दल मिलेर सरकार बनाए मात्रै स्थिरता आउँछ,” उनले भने।

देउवाले कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक रहेको भन्दै भने, “यदि कांग्रेसभित्र एकता भयो भने आगामी चुनावमा बहुमत ल्याउन सक्छौँ।”

उनको भनाइले कांग्रेस र एमालेबीचको गठबन्धनबारे उठिरहेका प्रश्नको जवाफ दिएको देखिन्छ। सत्ता साझेदारीको आलोचना भइरहेका बेला देउवाले ओलीसँगको पुरानो सम्बन्ध र सहकार्यको महत्त्वलाई स्पष्ट पारेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्