
पोखरा । नेपाली फुटबलप्रेमीहरूका लागि प्रतिक्षाको घडी समाप्त भएको छ। २४औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।
पोखरा रंगशालामा आयोजित उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो।
प्रतियोगितामा नेपालका प्रमुख क्लबहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज क्लब (यूके), सहारा क्लब पोखरा, थ्रीस्टार क्लब, एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, थन्डर नर्थ युनाइटेड क्लब (सिक्किम), उज्वेकिस्तानको बल्याक बुल्स फुटबल क्लब र संकटा क्लब गरी १२ टिमको सहभागिता रहेको छ।
उपाधिका लागि टिमहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। विजेता टिमले फागुन ३ गते हुने फाइनल खेलपछि १२ लाख १ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
सहारा क्लबले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ गोलरक्षक सनिष श्रेष्ठलाई प्रदान गरेको छ। नगर प्रमुख आचार्यले उनलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गर्नुभयो। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान पनि यो सम्मान प्राप्त गरिसकेका छन्।
सहारा क्लबको आयोजनामा सन् २००१ (विक्रम संवत् २०५८) मा पहिलोपल्ट ‘क्याराभान कप’ को रूपमा सुरु भएको यो प्रतियोगिता अहिले आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित बन्न सफल भएको छ।
प्रारम्भमा ‘आहा’ ब्रान्डको सहयोगमा ‘आहा कप’ को रूपमा परिचित यो प्रतियोगिता, पछि ‘आहा–रारा’ गरिएको थियो। थप आकर्षक बनाउन ‘गोल्ड कप’ को रूपमा स्थापित गरिएको छ। अहिले यो ‘आहा–रारा गोल्ड कप’ को रूपमा नेपालको प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक बनेको छ, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बलियो बनाइसकेको छ। यस प्रतियोगिताको प्रमुख संरक्षक पोखरा महानगरपालिका रहेको छ।
हरेक वर्ष पोखरामा हजारौँ फुटबलप्रेमीहरू भेला भएर यो प्रतिष्ठित प्रतियोगिताको प्रत्यक्ष अवलोकन गर्छन्, जसले खेलाडीहरूलाई नयाँ उर्जा प्रदान गर्ने गर्दछ। नेपालको फुटबलमा योगदान पुर्याउने यो प्रतियोगिता आगामी दिनमा अझ भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य आयोजक सहारा क्लब प्रतिबद्ध रहेको छ।