पोखरा । पोखरामा मंगलबारदेखि आठौं वीरेन स्मृति र १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ। ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशील बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका हुन्।
उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिस्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ। क्लबका अध्यक्ष आसीम थापाले बुद्धटोलको जितमा विपिन मगर र रिनिस तामाङले समान १ गोल गरेको जानकारी दिए।

प्रतियोगिताको दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयको शुरुआत गरेको छ। एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरेका छन्।
गृहमन्त्री लेखकले उद्घाटन समारोहमा भने, “खेलकुदले अनुशासन सिकाउँछ र सबैलाई आपसी सद्भावमा राख्छ। राजनीतिकर्मीले खेलकुदबाट अनुशासन सिक्न आवश्यक छ। यसले राष्ट्रको स्वास्थ्य र एकता कायम राख्न मद्दत पुर्याउँछ।”
प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ, र विजेताले १ लाख ८१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। साथै, प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ, र अनुशासित टिमलाई ९ हजार रुपैयाँ पुरस्कृत गरिनेछ।

प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ र फुटबलप्रेमीहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउनेछ।










