पोखरा । तनहुँको म्याग्दे गाउँपालिकाले प्रदेशभित्रका पालिकास्तरीय टोलीहरूको सहभागितामा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
फागुन १३ देखि २२ गतेसम्म सञ्चालन हुने यो प्रतिष्ठित प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन्। साथै, सेमिफाइनलसम्म पुग्ने दुई टोलीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
गाउँपालिकाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिएको थियो। अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रतियोगितासँगै जिल्लास्तरीय व्याडमिन्टन र वडास्तरीय भलिबल प्रतियोगिता समेत सञ्चालन गरिने जानकारी गराए। व्याडमिन्टनतर्फ प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फका विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन्। प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसले खेलाडीहरूलाई अझ प्रेरित गर्ने आयोजकहरूको विश्वास छ।
म्याग्दे ५, छाङ पाटन खेल मैदानमा हुने यो प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए। प्रदेशभरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै स्थानीय खेल प्रतिभालाई उजागर गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको हो।
खेलकुद प्रवर्द्धनका लागि म्याग्दे गाउँपालिकाले लिएको यो कदम खेलाडीहरूको भविष्य उज्जवल बनाउन महत्वपूर्ण हुने आयोजकको विश्वास छ।










