
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह माघ २७ गते पोखरा आउने भएका छन्। उनको स्वागतका लागि पोखरामा विशेष तयारी सुरु गरिएको छ। बिहीबार आयोजित प्रारम्भिक छलफलमा पश्चिमाञ्चलका स्थानीयवासी, विभिन्न संघसंस्था तथा आयोजक पक्षले भव्य स्वागत कार्यक्रमबारे चर्चा गरेका छन्।
पूर्वराजा शाहको आगमनलाई ऐतिहासिक बनाउन पोखरामा विभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनेको छ। उनकाे पोखरामा करिब एक महिना बस्ने बताइएको छ। यस अवधिमा उनले पोखराका प्रमुख मठमन्दिरहरूमा दर्शन गर्ने कार्यक्रम छ।
आयोजक पक्षका अनुसार, पूर्वराजाको भ्रमणलाई विशेष बनाउन सांस्कृतिक कार्यक्रम, भव्य र्याली तथा अन्य धार्मिक क्रियाकलापहरूको तयारी भइरहेको छ। पोखरा पर्यटनको केन्द्रबिन्दु भएकाले पूर्वराजाको आगमनले यस क्षेत्रको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।
पूर्वराजाको भ्रमणले स्थानीय पर्यटन र धार्मिक क्षेत्रको प्रवर्द्धनमा के कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा समेत चासो देखिएको छ। आयोजक पक्षले स्वागत कार्यक्रमलाई ऐतिहासिक बनाउन कुनै कमी हुन नदिने बताएको छ।