‘ब्याक टु नाइन्टिज’ भोलि पोखरामा : सबै तयारी पूरा!

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको सांगीतिक इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यले ‘ब्याक टु नाइन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रम शनिबार पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुँदैछ।

पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गर्ने यो कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहनेछन्।

साथै, गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य विशेष अतिथि रहनेछन्। कार्यक्रम साँझ ५ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार, पोखराले ९० को दशकमा ‘व्याण्डहरूको राजधानी’को पहिचान बनाएको थियो, जसलाई पुनःस्थापित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ९० को दशकमा चर्चित सात सांगीतिक समूहहरूले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।

कन्दरा व्याण्डका विवेक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारी’ र ‘लेककी हे माया’ गीत प्रस्तुत गर्नेछन्। डी-मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले ‘झ्याम्म झ्याम्म’, ‘कैलाशैमा’, ‘झ्याम्मै चौतारी’ र ‘तारा खस्यौली’ गीत गाएर दर्शकलाई पुराना दिनहरूमा फर्काउनेछन्। लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नवीन गुरुङले ‘यो मुटुमा’, ‘सपनीमा’, ‘कहाँबाट’ र ‘पहिलो नजर’ गीत प्रस्तुत गर्दै दर्शकलाई फरक स्वाद दिलाउनेछन्।

देउराली व्याण्डका शान्त बज्राचार्यले ‘ढुंगे साँघुको मेलामा’, ‘लुकीचोरी’ र ‘सररर हावा’ गीत प्रस्तुत गर्दा ब्रोसिस व्याण्डका प्रकाश रानाले ‘चाइना कम्पनी’ र ‘जादू तिम्रो नजरले’ गीत गुञ्जाउनेछन्। मध्याह्न व्याण्डका कर्णदास र कुमार गुरुङले ‘जिन्दगीको के भरोसा’ र ‘मन मनै मन पराई सकेछु’ गीत प्रस्तुत गर्दा भेगाबोण्ड व्याण्डका श्यामसुङ तामाङले ‘यो जिन्दगानी’ र ‘उकाली चढी’ गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नेछन्।

पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)का अनुसार, कार्यक्रमले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरूको पुनर्जागरण गर्नेछ। साथै, नयाँ पुस्तालाई संगीतप्रति आकर्षित गर्दै यस क्षेत्रलाई करियर बनाउन सकिन्छ भन्ने सन्देश दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले सहभागीलाइ ९० को दशकमा फर्किएर आफू हुर्किएको परिवेशसँग आत्मीय सम्बन्ध गाँस्ने अवसर दिने बताए। सांगीतिक इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम पोखराको सांगीतिक पहिचान पुनः स्थापित गर्ने प्रयासस्वरूप आएको हो।

कार्यक्रम प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाशलाई फराकिलो बनाउन ‘ब्याक टु नाइन्टिज’ महत्त्वपूर्ण हुने बताए। यसले पर्यटन राजधानी पोखराको रिब्राण्डिङ गर्दै गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने विश्वास गरिएको छ।

निराशालाई हटाई आशाको संचार गर्ने, कुलत तथा दुर्व्यसनबाट युवालाई जोगाउने र राष्ट्रिय एकताको भावना बलियो बनाउँदै सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) र कुमुदिनी होम्स उच्च माविको टाइटल स्पोन्सरमा कार्यक्रम हुन लागेको हो। पोखरा–१४ छिनेडाँडामा रहेको एनटीएचएमसी र पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च माविले कार्यक्रमको मुख्य प्रायोजन गरेका छन्। आयोजकका अनुसार, सांगीतिक कार्यक्रमहरू पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम बन्न सक्ने भएकाले निजी क्षेत्रको सहयोग आवश्यक छ।

नेवा खल कास्कीका अध्यक्षसमेत रहेका कुमुदिनी होम्स र एनटीएचएमसीका व्यवस्थापन समिति अध्यक्ष अशोक पालिखेले कला र संगीतको प्रवद्र्धन राज्यको मात्र जिम्मेवारी नभई नागरिक समाज र निजी क्षेत्रको पनि दायित्व रहेको बताए।

उनले सांगीतिक क्षेत्रलाई समृद्ध बनाउने अभियानमा निजी क्षेत्रले भूमिका खेल्नुपर्ने बताउँदै ‘ब्याक टु नाइन्टिज’ जस्तो कार्यक्रमले सांगीतिक विरासतलाई फर्काउने मात्र नभई पोखराको पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने बताए।

पोखराको सांगीतिक सम्पदालाई पुनःस्थापित गर्दै सुस्ताएको पर्यटनलाई अघि बढाउने लक्ष्यसहित आयोजना गरिएको यस भव्य कार्यक्रमले पुराना दिनहरूको झल्को दिने विश्वास गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्