
पोखरा । पोखरा रंगशालामा शुक्रबार सम्पन्न प्रि-क्वाटरफाइनल खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले दुई पटकको च्याम्पियन संकटा क्लबलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकाे छ।
खेलको सुरुआतबाटै दुवै टोलीले उच्च दबाबयुक्त खेल प्रस्तुत गरे। १६औं मिनेटमा संकटाका मनिष पौडेलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टको दायाँ किनार हुँदै जाली चुमेपछि संकटाले अग्रता लियो। पहिलो हाफको मध्यतिर बल पोसेसनमा पकड जमाउँदै थन्डरबोल्टले खेललाई आफ्नो नियन्त्रणमा लिन थाल्यो। ३४औं मिनेटमा थन्डरबोल्टले पेनाल्टी प्राप्त गर्यो, जसलाई तालाले अवसरमा परिणत गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा थन्डरबोल्ट अझ आक्रामक बन्यो। ७७औं मिनेटमा करण राईले संकटाका डिफेन्डरलाई छक्याउँदै गोल गर्दै टोलीलाई अग्रता दिलाए। संकटा खेलमा फर्कने प्रयासमा देखिए पनि विपक्षीको सशक्त डिफेन्स तोड्न सकेन। अन्तिम मिनेटमा आदर्श तामाङले संकटाका गोलकिपर दीप कार्की अगाडि बढेको मौकामा लामो दूरीबाट प्रहार गर्दै दर्शनीय गोल गरे, जसले थन्डरबोल्टको जित पक्का गर्यो।
यो नतिजासँगै प्रतियोगिताबाट तीन पूर्व विजेता टोली – आयोजक सहारा क्लब, एपीएफ, र संकटा बाहिरिइसकेका छन्। क्वाटरफाइनलमा थन्डरबोल्टले उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ, जसले हालै मात्र काठमाडौंमा प्रशिक्षण सत्र पूरा गरेको छ।