विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राखेकाेमा नेवि संघकाे  विराेध, तत्काल हटाउन माग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाण्डाैं । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राखेकाेमा  विराेध गरेकाे छ । संघले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राखेकाेमा विराेध जनाएकाे हाे ।

समितिका अध्यक्ष किशोर भण्डारी र सचिव अश्विन दुवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ – ‘विश्वविद्यालय शान्ति क्षेत्र हो। शैक्षिक र अनुसन्धानात्मक क्रियाकलाप हुने विश्वविद्यालय डर, त्रास र भय रहित हुनुपर्ने विश्व मान्यता छ । विश्वविद्यालय परिसरमा हरेक विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले शान्त वातावरणमा आफ्ना शैक्षिक गतिविधि संचालन गर्न पाउने अधिकार हुन्छ।’

नेवि संघले विश्वमा कुनैपनि विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राख्न नमिल्ने कुरा सामान्य मान्यता भएकाे जनाएकाे छ ।

 विगत केही समयदेखि त्रिभुवन विश्वविद्यालय परिसरभित्र प्रहरी कार्यालय राखिनुले विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरुलाई असहज र मानसिक दबावमा पार्ने सम्भावना उत्पन्न गर्न सक्ने र यस कार्यलाई संघले विश्वविद्यालयको स्वतन्त्रता र शैक्षिक वातावरणको अवमूल्यनको रूपमा लिएकाे छ ।

नेवि संघले प्रहरी कार्यालयको स्थापना शैक्षिक संस्थाको स्वायत्तता र शान्तिपूर्ण वातावरणको विपरीत भएकाे ठहर गरेकाे छ ।

 ‘विश्वविद्यालयको मूल उद्देश्य शिक्षा दिने र अनुसन्धानको प्रवर्धन गर्नु हो। शान्त वातावरण विभिन्न किसिमका अनुसन्धान र खोज अगाडि बढाउनुपर्ने विश्वविद्यालयमा प्रहरी कार्यलयको स्थापनाले शैक्षिक गतिविधिहरूको स्वच्छ र खुलेर संचालनमा अवरोध पुऱ्याउँछ र विश्वविद्यालयको शान्तिपूर्ण वातावरणलाई नष्ट गर्दछ ।’ विज्ञप्तिमा भनिएकाे छ ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले प्रहरी कार्यालयलाई विश्वविद्यालय परिसरबाट तत्काल हटाउन   त्रिभुवन विश्वविद्यालय प्रशासन र सम्वन्धित सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग समेत गरेकाे छ । यस कदमले शैक्षिक वातावरणलाई थप सहज र सुरक्षित बनाउने र  विश्वविद्यालयको स्वतन्त्रता र स्वतन्त्र सोचको रक्षा गर्ने नेवि संघकाे विश्वास छ ।

संघले विश्वविद्यालयलाई शैक्षिक हब बनाउने, पठनपाठन मैत्री वातावरण सिर्जना गर्ने र शान्ति क्षेत्र वनाउने कुरामा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सधै प्रतिवद्ध रहेको जनाएकाे छ ।

नेवि संघले जारी विज्ञप्तिमा गृह मन्त्रालय, सिंहदरवार काठमाडौं, शिक्षा मन्त्रालय, सिंहदरबार काठमाडौं, उपकुलपतिको कार्यालय त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, जिल्ला प्रहरी कार्यालय, काठमाडौ, प्रहरी कार्यालय, कीर्तिपुरलाई बाेधार्थ समेत राखेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्