पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै २४औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको ८९औँ मिनेटमा चर्च ब्वाइजका राज भुषालले निर्णायक गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए। नवीन लामाले प्रहार गरेको कर्नर किकलाई भुषालले हेडमार्फत गोलमा परिणत गरेका थिए। त्रिभुवन आर्मीका गोलरक्षक आविष्कार खड्काले बल रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

यो जितसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको बदला समेत लिएको छ। अब चर्च ब्वाइजले माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो। अर्कोतर्फ, बाई पाएर सिधै क्वाटरफाइनल पुगेको त्रिभुवन आर्मी भने पहिलो खेलबाटै बाहिरिएको छ।

यस प्रतिष्ठित प्रतियोगिता सहारा क्लबको आयोजनामा भइरहेको छ भने हिमश्री फुड्सको उत्पादन रारा चाउचाउ मुख्य प्रायोजक रहेको छ। मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्