
पोखरा । ट्याक्सी सेवामा पारदर्शिता र सुरक्षा बढाउन पोखरामा ‘ट्याक्सी यात्रु लग बुक’ प्रणाली सुरु गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बैदामको आयोजनामा बुधबारबाट यो अभियान औपचारिक रूपमा लागू भएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अनुसन्धानका क्रममा ट्याक्सीमा यात्रा गर्ने यात्रुको विवरण महत्वपूर्ण हुने बताए। “यो प्रणालीबाट यात्रु कुन ठाउँबाट चढे, कहाँ गए, साथमा के कस्ता लगेज लिए भन्ने तथ्यांक सुरक्षित हुनेछ। यसले ट्याक्सी चालकका बारेमा उजुरी परेमा प्रमाण जुटाउन सहयोग पुर्याउनेछ,” उनले बताए। प्रहरी उपरीक्षक ओलियाले ट्याक्सी चालकले आफ्नो छवि राम्रो बनाउन पारदर्शी सेवा आवश्यक रहेकोमा पनि जोड दिए।
पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराईका अनुसार यात्रु विवरण अभिलेख राख्ने कार्य प्रशंसनीय छ। “कहिलेकाहीँ यात्रुका कारण ट्याक्सी चालकहरू अनावश्यक समस्यामा पर्ने गरेका छन्। कतिपय अवस्थामा यात्रुहरुले टाढा-टाढासम्म लगेर भाडा नदिई चालकलाई नै लुट्ने गरेका घटनाहरू पनि देखिन्छन्। लग बुक प्रणालीले यस्ता समस्या न्यूनीकरण गर्न मद्दत गर्नेछ,” उनले बताए।
पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले सार्वजनिक यातायातमा व्यवसायिकता अभाव रहेको गुनासो गरे। “राज्यको दायित्व शून्य प्रायः छ। निजी क्षेत्रका लगानीकर्ताहरूले नै धेरै समस्या झेल्दै यातायात सेवा दिइरहेका छन्। ट्याक्सी र सार्वजनिक यातायातका क्षेत्रमा व्यवसायिक अनुशासन आवश्यक छ,” उनले भने। नेपालका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक पोखरामा ट्याक्सी सेवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले यो प्रणालीले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे।
ए वान ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलका अनुसार यात्रा क्रममा शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई तुरुन्तै खबर गर्न ट्याक्सी चालकलाई आग्रह गरिएको छ। “सही सूचना प्रवाह गर्न सकेमा समस्या समाधान गर्न सजिलो हुन्छ। साथै, ट्याक्सीमा चढेर भाडा नतिर्ने यात्रुहरूलाई कानुनी दायरामा ल्याउन पनि यो प्रणाली प्रभावकारी हुनेछ,” उनले बताए।
लग बुक प्रणाली कार्यान्वयनका लागि पोखरेली ट्याक्सी सेवा प्रा. लि. प्रमुख सहकार्य तथा सहयोगी संस्था रहेको छ भने ए वान ग्रेटर यातायात प्रा. लि. पोखरा ले पनि अभियानमा सहकार्य गरेको छ। कार्यक्रमका दौरान जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डे, पत्रकार श्यामनाथ कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौला, प्रहरी निरीक्षक किरण थापा मगर लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
लग बुकमा ट्याक्सी चालकले पालना गर्नुपर्ने नियमहरू तथा यात्रुहरूले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू उल्लेख गरिएको छ। यो प्रणालीले यात्रु र चालकबीच उत्तरदायित्व बढाउँदै सुरक्षित र व्यवस्थित सेवा प्रवाह गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।