ब्ल्याक बुल्स उज्बेकिस्तान आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पाहुना टोली ब्ल्याक बुल्स एफसी उज्बेकिस्तानले स्थान सुरक्षित गरेको छ। सेमिफाइनल खेलमा पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको हो।

पोखरा रंगशालामा भएको रोमाञ्चक खेलमा ब्ल्याक बुल्सका कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक-एक गोल गर्दै टोलीलाई शानदार जित दिलाए।

ओलिमोभले २४औं मिनेटमा खाता खोले भने ओरिफजोनोभले ५८औं मिनेटमा अग्रता दोब्बर बनाए। सात्तोरोभले ६३औं मिनेटमा तेस्रो गोल थप्दा, वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका दाभ्लातिनोभले ८७औं मिनेटमा अन्तिम गोल गर्दै टोलीलाई सानदार जित दिलाए।

अब ब्ल्याक बुल्सले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले बुधबार चर्च ब्वाइज क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताका विजेताले १२ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

थ्रीस्टार छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको भए पनि उज्बेकिस्तानी टोली बाधक बन्यो। बाई पाएर सिधै क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गरेका दुवै टोली अन्ततः सेमिफाइनलमा आमनेसामने भएका थिए। तर ब्ल्याक बुल्सको उत्कृष्ट खेलले थ्रीस्टारको उपाधि यात्रालाई समाप्त गरेेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्