
पोखरा । गण्डकी प्रदेशमा विद्यालय र कलेजस्तरीय फुटसललाई प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गतेदेखि सुरू हुँदैछ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकी को आयोजनामा हुने यस प्रतियोगितामा १३ विद्यालय र ९ कलेज सहभागी हुनेछन्। प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गरिएको छ।
फागुन ४ देखि ७ गतेसम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा विद्यालयतर्फ कास्कीका १०, बागलुङका २, र तनहुँको १ विद्यालय गरी कुल १३ टिमले भाग लिनेछन्। कलेजतर्फ भने ९ टोली मैदानमा उत्रिनेछन्।
प्रतियोगिताको विद्यालयतर्फको विजेता टिमले रु. १ लाख, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टिमले रु. ५० हजार, मेडल, ट्रफी, र प्रमाणपत्र हात पार्नेछ।
कलेजतर्फ विजेता टोलीले रु. २० हजार, मेडल, ट्रफी, र प्रमाणपत्र जित्नेछ भने उपविजेता टोलीले रु. १० हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछ।
हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माका अनुसार प्रतियोगितालाई सफल बनाउन करिब रु. १० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको पहिलो पुरस्कार युआरएल ले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्की ले प्रायोजन गरेको छ।
हिसान गण्डकीका उपाध्यक्ष बाबुराम पन्तका अनुसार प्रतियोगिता केवल उपाधिका लागि मात्र नभएर गण्डकी प्रदेशका विद्यालय तथा कलेजहरूलाई खेलकुदतर्फ अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको हो।
उनले शिक्षासँगै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने माहोल तयार पार्ने लक्ष्य रहेको बताए। प्रतियोगिताको व्यवस्थापन सविन मेमोरियल फुटबल क्लब ले गर्नेछ, जुन राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो।
प्रतियोगिताबारे हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिव डिल्लीराम अधिकारीलगायतले फुटसल विकासमा यस्ता प्रतियोगिताहरू फलदायी हुने धारणा राखेका छन्।