
पोखरा । लागू औषध कारोबारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले पृथ्वीचोक क्षेत्रमा अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास-८ स्थायी ठेगाना भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी, काठमाडौँका २१ वर्षीय रोहित तामाङ, र स्याङ्जा फेदीखोला-२ स्थायी वतन भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३५ वर्षीय नवीन खत्री रहेका छन्।
गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी खानतलासी गर्दा डाइजेपाम, फेनरागन र बुप्रिनर्फिन गरी ८४ एम्पुल लागू औषध बरामद गरेको छ। साथै, तीन थान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू औषध कारोबार नियन्त्रणका लागि पोखरा क्षेत्रमा निगरानी अझै कडा पारिने छ।