
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोह अप्रत्याशित घटनाले प्रभावित भएको छ। लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा आगोको झिल्काले लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।
पोखरा प्रदर्शनी केन्द्रमा आयोजित भव्य समारोहका क्रममा बेलुन विस्फोट हुँदा आगोको झिल्का उछिट्टिएर मेयर आचार्यको घाँटीमा लागेको छ। उनलाई तत्काल उपचारका लागि फिस्टेल अस्पताल पुर्याइएको छ। अर्थमन्त्री पौडेलसमेत सोही घटनामा सामान्य घाइते भएका छन्।
पोखरा भ्रमण वर्ष २०२५ को प्रचारप्रसारलाई तिव्रता दिन आयोजना गरिएको यो विशेष कार्यक्रममा संघीय तथा स्थानीय सरकारका उच्च अधिकारीहरू, पर्यटन व्यवसायी, र सर्वसाधारणको बाक्लो उपस्थिति थियो। कार्यक्रमलाई सफल बनाउन व्यापक तयारी गरिएको भए पनि बेलुन विस्फोटको घटनाले वातावरण केही तनावग्रस्त बनाएको थियो।
मेयर आचार्यको घाइते भएको भागमा उपचार भइरहेको छ, र अवस्था गम्भीर नभएको बताइएको छ। घटनापछि सुरक्षाकर्मीहरूले कार्यक्रमस्थलको सुरक्षा थप कडा बनाएका छन्।