बेलुन विस्फोटमा घाइते उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य काठमाडौं लगियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई काठमाडौं लगिएको छ।

शनिबार पोखरामा आयोजित भ्रमण वर्षको उद्घाटन कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा अचानक पड्किँदा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। विस्फोटका कारण पौडेलको हात र गालामा चोट लागेको छ भने मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ।

दुर्घटनापछि उपप्रधानमन्त्री पौडेललाई पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो। अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहेको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ।

त्यस्तै, मेयर आचार्यलाई पोखराकै फिस्टेल अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। घाँटीमा आगोले पोलेको कारण थप उपचार आवश्यक देखिएपछि उनलाई पनि काठमाडौं लगिएको छ।

पोखरा भ्रमण वर्ष २०२५ को लोगो सार्वजनिक गर्ने क्रममा बेलुन विस्फोट भएको थियो। घटनाबारे विस्तृत अध्ययन भइरहेको आयोजक पक्षले जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्