
पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी ले पहिलो सहभागितामै २४औं आहा रारा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई ३-१ को फराकिलो अन्तरले पराजित गर्दै उनीहरूले प्रतिष्ठित उपाधि उचालेका छन्।
ब्ल्याक बुल्सको यो जितसँगै आहा रारा गोल्डकपमा नयाँ च्याम्पियन भएको छ। उपाधिसँगै विजेता टोलीले १२ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्यो भने उपविजेता नेपाल पुलिस क्लबले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
पहिलो हाफमै अग्रता लिन सफल भएको ब्ल्याक बुल्सले पोखरेली दर्शकमाझ आक्रामक खेल प्रस्तुत गर्यो। ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मोडोभको फ्रिकिक नेपाल पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाउन खोज्दा बल हातबाट छुटेर पोस्टभित्र पुगेपछि खेलको पहिलो गोल भएको थियो।
दोस्रो हाफमा पनि ब्ल्याक बुल्सले खेल आफ्नो नियन्त्रणमै राख्यो। अशिलवेक ओरिफजोनोभले उत्कृष्ट फिनिश गर्दै गोल अन्तर दोब्बर बनाए भने साभकाटजोन स्याट्रोभको गोलले पुलिसको जित्ने आशालाई लगभग समाप्त गरिदियो। पुलिसले अन्त्यतिर एक गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन।
प्रतियोगितामा ब्ल्याक बुल्सले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्यो। क्वार्टरफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड क्लब, सिक्किमलाई ३-० ले हराउँदै सुखद सुरुआत गरेको टोलीले सेमिफाइनलमा थ्री स्टार क्लबमाथि ४-० को शानदार जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो।
नेपाल पुलिस क्लबले पनि उत्कृष्ट यात्रा तय गर्दै फाइनल पुगेको थियो। उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-०, क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब, युकेलाई २-०, सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० ले पराजित गर्दै फाइनल पुगेको पुलिसले अन्तिम खेलमा भने आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्याउन सकेन।
फाइनल खेलमा पुलिसले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो। खेल सुरू भएको ३ मिनेटमै अरुण गाहाको हेडर पोलमा लागेर फर्किएको थियो, जसले पुलिसलाई अग्रता लिने अवसर गुमायो। थप केही अवसरहरू सदुपयोग गर्न नसक्दा पुलिसको ७ वर्षपछि सातौं पटक उपाधि जित्ने सपना अधुरै रह्यो।
आहा रारा गोल्डकप नेपाली फुटबलप्रेमीहरूका लागि मात्र होइन, युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने अवसर पनि हो। यस प्रतियोगिताले नेपाली फुटबललाई निरन्तर अगाडि बढाइरहेको छ, जसले आगामी दिनमा अझ रोचक प्रतिस्पर्धा दिलाउने विश्वास गरिएको छ।