
पोखरा । पोखरा महानगरपालिकाले शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गर्दै समृद्ध पर्यटनका लागि नयाँ शुरुआत गरेको छ।
पोखरालाई नेपालकाे पर्यटकीय राजधानीको रूपमा मानिन्छ । यस वर्ष २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य राखेको छ। पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भ्रमण वर्षको लोगो अनावरण गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पोखरामा पर्यटनको महत्त्व र आगामी योजनाबारे आफ्नो विचार राख्दै, भ्रमण वर्षले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले पोखरा अन्तर्राष्ट्रिय उडानको नियमितता र पर्यटनको विस्तारका लागि गम्भीर पहल गरिरहेको जानकारी दिए। उनले घरेलु विमानस्थलको गुणवत्ता सेवा सुधार गर्दै २ लाख यात्रुबाट १० लाख यात्रुमा पुग्ने उल्लेख गर्दै हिमालयन एयरलाइन्सले चीनको ल्हासासँग नियमित उडान थालेको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा भ्रमण वर्षको घोषणा पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्दै समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रको नयाँ आयाम थप्ने बताए। उनले पोखराको प्राकृतिक सुन्दरता र हिमालको कारण धेरै पर्यटक पोखरालाई पहिलो प्राथमिकतामा राखेर आउने बताए । उनले आगामी समयहरूमा पोखरा र गण्डकी प्रदेशको पर्यटनको विकासका लागि प्रदेश सरकारको निरन्तरता र पूर्वाधारको निर्माणमा जोड दिने उल्लेख गरे ।
महानगरका उपमेयर मञ्जुदेवी गुरुङले पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्याउनका लागि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै, पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने योजना समेत प्रस्तुत गरिन्।
उनले पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ, स्वस्थ र खुसी पोखरेली बनाउने अभियानलाई आधारको रूपमा लिने निर्णय गरिएको जानकारी दिइन्। साथै, उनले पोखरालाई प्राकृतिक सुन्दरता, सांस्कृतिक वैभवता र साहासिक गतिविधिको अविस्मरणीय गन्तव्यको रूपमा स्थापित गर्न संसारभरका विदेशी, गैरआवासीय नेपाली तथा स्वदेशी पाहुनालाई पोखरा भ्रमणका लागि आह्वान गरिने बताइन्।
उपमेयर गुरुङले पोखरा महानगरपालिकाले भ्रमण वर्षको अवधिभर स्वदेशका ५ र विदेशका ५ गरी १० सहरसँग सम्बन्ध कायम गर्ने योजना बनाएको जानकारी दिइन्। साथै, पोखरामा नयाँ पर्यटकीय गन्तव्यको खोजी र स्थापनामा ध्यान दिने र कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने घोषणा गरिन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनसहित विदेशका सहरसँग सिधा उडानको लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने बताइन्।
महानगरले दिगो र उत्तरदायी पर्यटन विकासका लागि नीतिगत सुधार र योजनाबद्ध कार्य गर्न थाल्ने भएको छ, जसका लागि २०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरेर ‘टुरिजम इन्भेस्टमेन्ट समिट’ आयोजना गर्ने योजना बनाइएको छ। यस अभियानमा पर्यटन क्षेत्रमा नयाँ पूर्वाधारका निर्माणका साथै, बोटानिकल गार्डन, पञ्चासे क्षेत्रको विकास, मुक्तिनाथ प्रवेशद्वारको निर्माण लगायतका कामहरू समावेश हुनेछन्।
नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक मदन गिरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र जीवन विज्ञानका प्रशिक्षक एलपी भानु शर्मा लगायतले पोखरा भ्रमण वर्षका बारेमा आफ्ना विचार व्यक्त गरेका थिए। ‘पर्यटन प्रवर्द्धनका लागि सँगसँगै’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा पोखरा रंगशाला, पोखरा सभागृह र चिप्लेढुंगाबाट विशेष झाँकीसहितको र्याली निकालिएको थियो। साथै, पोखरा फोटोग्राफर संघको व्यवस्थापनमा “पोखरा: हिजो र आज” नामको फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले पोखराको ऐतिहासिक र समृद्ध परिवर्तित रुपलाई देखाउने प्रयास गरेको थियो।
यो कार्यक्रम पोखरा र गण्डकी प्रदेशको पर्यटनको उज्जवल भविष्यलाई दर्शाउने एउटा महत्वपूर्ण कदम थियो।