
पोखरा । पोखरामा शनिबार भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा भएको उक्त घटनामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।
गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बनेको समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल २४ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी, र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य छन्। समितिमा विस्फोटक पदार्थसम्बन्धी विज्ञ पनि रहनेछन्।
गृहमन्त्री रमेश लेखकले घटनाको विस्तृत छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएका छन्। समितिले आइतबारदेखि नै औपचारिक रूपमा काम थालिसकेको छ।
शनिबारको घटनामा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न गृहमन्त्री लेखक कीर्तिपुर अस्पताल पुगेका थिए। दुबै नेताको स्वास्थ्यमा सुधार भइरहेको छ। पोखरामा भएको यस घटनाले सुरक्षा सतर्कतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।