नदिपुर अस्थायी प्रहरी पोष्टमा महिला प्रहरीको मात्रै कमाण्ड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पाेखराकाे नदिपुरस्थित अस्थायी प्रहरी पोष्टमा अब महिला प्रहरी कर्मचारीहरूले मात्रै सेवा दिने भएका छन्।

महिला प्रहरीको नेतृत्वमा सञ्चालन हुने यो नयाँ अभ्यास आईतबार ओैपचारिक रूपमा शुभारम्भ गरिएको हो। यसले महिला सशक्तिकरण, लैङ्गिक समानता र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले महिला प्रहरी कर्मचारीहरूले सेवा प्रवाह गर्दा बढी अनुशासन, पारदर्शिता, र न्यायसम्पन्न वातावरण सिर्जना हुने बताए । उनले भने, ‘महिला प्रहरीद्वारा सञ्चालन हुने सेवा समाजका सबै वर्गका लागि विश्वासिलो बन्नेछ। यसबाट न्याय, समानता, र सुरक्षामा सुधार आउनेछ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले महिला प्रहरीहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न यो एउटा महत्वपूर्ण पहल भएको बताए । उनले भने ‘महिला प्रहरीहरूले कास्कीमा उत्कृष्ट कार्य गर्दै आएका छन्। नदिपुरमा सुरु भएको यो अभ्यास महिला प्रहरीको क्षमता अभिवृद्धि गर्ने एउटा कोशेढुंगा हो। ‘

उनले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्न अस्थायी प्रहरी पोष्ट प्रभावकारी हुने विश्वास व्यक्त गरे। निकट भविष्यमा अन्य स्थानहरूमा पनि महिला प्रहरीद्वारा मात्रै सेवा प्रदान गर्ने योजना बनाइएको उनकाे भनाई छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष गोकर्ण कार्की, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष भीम पराजुली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, साथै पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, ९, र ११ का वडा अध्यक्षहरू, स्थानीय समाजसेवी तथा प्रहरी अधिकृत सहभागी भएका थिए।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं. ३ निवासी धर्मराज बरालले अस्थायी प्रहरी पोष्ट नदिपुरलाई एक थान स्कुटर हस्तान्तरण गर्नुभएको थियो। यसले प्रहरी सेवाको प्रभावकारिता बढाउने विश्वास गरिएको छ।

महिला प्रहरीको कमाण्डमा सञ्चालन हुने नदिपुर अस्थायी प्रहरी पोष्टले स्थानीय समुदायको सुरक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। यसले महिला सशक्तिकरणलाई बल पुर्‍याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्