पोखरामा विस्फोट भएको बेलुन प्रकरण: हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा बलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। प्रहरीले घटनापछि एक भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

फागुन ३ गतेको उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बलुनमा ब्यानर टाँसेर आकाशमा उडाउन खोजिएको थियो। तर, स्पार्किङ मेसिनको झिल्को लाग्दा अचानक आगो बल्न थाल्यो र बलुन विस्फोट भयो। विस्फोटको असरले वरपर रहेका मन्त्री र मेयर घाइते भए।

घटनापछि प्रहरीले ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे अनुसन्धान भइरहेको छ।

अर्थमन्त्री पौडेल उपचारपछि सोमबार डिस्चार्ज भए, तर मेयर आचार्यलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने चिकित्सकहरूले बताएका छन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्।

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। हाइड्रोजन ग्यासको प्रयोगलाई सुरक्षित बनाउने उपायहरू पनि अघि बढाइने जनाइएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्