
पोखरा । पोखरा महानगरपालिका-५ फिर्केमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार बिहान करिब ११:२५ बजे सिर्जनाचोकबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको ग ३ च ८९७७ नम्बरको पिकअप भ्यानले जिरो किलोमिटरबाट सिर्जनाचोक आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट स्कुटर चालक पोखरा-११ फूलवारी निवासी २६ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ र अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले जनाएका छन्।
स्कुटरको पछाडि सवार उनकी आमा, ५६ वर्षीया माया गुरुङलाई समेत गम्भीर चोट लाग्यो। घाइते भएकी उनलाई तत्काल मेट्रोसिटी अस्पताल लगिएको थियो, तर उपचारका क्रममा करिब १२:०३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न पिकअप चालक स्याङ्जा हरिनास गाउँपालिका-१ निवासी करिब २५/२६ वर्षीय निर्मल गुरुङ रहेको प्रहरीले जनाएको छ। ठक्करपछि उक्त स्थानमा पार्किङ गरिएको ग ७ प ५२७४ नम्बरको स्कुटर समेत क्षति भएको छ।
हाल दुर्घटनामा संलग्न तीनैवटा सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।