नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लमजुङ । चलचित्र पत्रकार संघ कास्कीले लमजुङकाे घलेगाउँमा सिनेमा संवाद गरेकाे छ । सिनेमा संवादकाे अन्तिम सेसनमा थिए चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । अन्य सेसनभन्दा लामो तर रोमाञ्चक बनेको उक्त सेसनमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गरे ।

बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्दै चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिए । उनले आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताए । अन्तर्राष्ट्रिय अभ्यासको समेत उदाहरण दिँदै उनले नेपाली सिनेमामा बर्सेनि थोरैमात्र फिल्म सफल हुनु स्वाभाविक हो भने । उनले चलचित्रको बृहत्तर विकासमा आफू लागिपरेको बताए ।

चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए । उनले तत्काल चलचित्र ऐन पारित हुनुपर्ने आवश्यकता औंल्याए ।

चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । कार्यक्रम उद्घाटनमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायत बोलेका थिए । सिनेमा संवाद सुन्न घलेगाउँबासीको उल्लेख्य उपस्थिति थियो ।

संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्