मादी गाउँपालिकामा दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिता, विजेतालाई २ लाख नगद

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । मादी गाउँपालिकाले पालिका स्थापना दिवस फागुन २७ भव्य रूपमा मनाउने तयारी गरेको छ। यस अवसरमा दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। फागुन २७ देखि २९ गतेसम्म मादी–३, याङ्जाकोटमा सञ्चालन हुने प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

गाउँपालिकाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिएको हो। प्रतियोगिताको उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनल पुग्ने टिमहरूले ५०/५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिनेछ। सहभागी टिमहरूले ३,५०० रुपैयाँ टिम दर्ता शुल्क बुझाउनु पर्नेछ।

गाउँपालिकाले “खेल अभियान, पर्यटन र संस्कृतिको पहिचान” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामार्फत पर्यटन प्रवर्द्धन गर्ने, खेलकुदको स्तर उकास्ने र स्थानीय संस्कृति आदानप्रदान गर्ने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। गण्डकी प्रदेशका सबै वडाका टिमहरूलाई प्रतियोगितामा सहभागी गराएर यसलाई अझै प्रतिस्पर्धात्मक बनाइएको छ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ का अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद प्रवर्द्धन गर्दै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने हो। “पहिलो संस्करण पालिकास्तरीय मात्र थियो, तर यसपटक सबै वडाका टिमलाई सहभागी गराएर खेलाडीहरूलाई अझ ठूलो मञ्च दिने प्रयास गरेका छौं,” अध्यक्ष गुरुङले भने। “भलिबल प्रतियोगिता खेलकुद विकासको मात्र होइन, पर्यटन र संस्कृतिको प्रवर्द्धनको पनि अवसर हो।”

पालिका स्थापना दिवसको अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन, स्वागत नृत्य, गीत-संगीत प्रस्तुति जस्ता कार्यक्रमहरू पनि आयोजना गरिने छन्। साथै, सामुदायिक विद्यालयका शिक्षकहरूबीच हाजिरी जवाफ प्रतियोगिता समेत हुनेछ, जसका विजेताले २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

स्थापना दिवसलाई भव्य बनाउन गाउँपालिकाले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू अघि सारेको छ। यसै अवसरमा श्रेष्ठ सेवा प्रवाह गर्ने संघ–संस्था, विद्यालय, शिक्षक, स्वास्थ्य स्वयंसेविका, कृषक, उपभोक्ता समिति, सहकारी र सामाजिक अभियन्ताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

यस महत्त्वपूर्ण अवसरलाई सफल बनाउन गाउँपालिकाले सबै स्थानीय बासिन्दा, खेलप्रेमी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूलाई सहकार्य गर्न आग्रह गरेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्