
पोखरा । मछिन्द्र एफसीले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि तेस्रो पटक जित्दै आफ्नो दबदबा कायम राखेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै मछिन्द्रले ऐतिहासिक सफलता हात पारेको हो।
खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको बल रोक्ने क्रममा आर्मीका डिफेन्डर बिमल पाण्डेले आत्मघाती गोल गरे। त्यसपछि खेलको ७३औं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफेन जमाहाले अर्को गोल थप्दै टोलीलाई २–० को सहज जित दिलाए।
उपाधिसँगै मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार जित्यो भने उपविजेता त्रिभुवन आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो।
मछिन्द्र एफसीका सनिस श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले आफ्नो टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै यो उपाधि हात पारे। पुरस्कारस्वरूप उनले नगद एक लाख रुपैयाँसहित यमाहा-१२५ मोटरसाइकल प्राप्त गरे।
प्रतियोगितामा अन्य व्यक्तिगत विधामा पनि मछिन्द्रकै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने सर्वाधिक गोलकर्ता पुरस्कार मछिन्द्रकै स्टेफेन जमाहाले जिते। आर्मीका निराजन धामी भने प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए। उत्कृष्ट खेलाडीहरूलाई जनही ५० हजार रुपैयाँसहित यमाहा-१२५ मोटरसाइकल प्रदान गरियो।
राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित यस प्रतियोगितामा दुई विदेशी टोलीसहित ९ टिमको सहभागिता रहेको थियो।