
पोखरा । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रेरित भएर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ।
साे अवसरमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मसम्बन्धी विभिन्न महत्त्वपूर्ण जानकारी सार्वजनिक गरिएको छ।
निर्देशक मिलन चाम्सको निर्देशन रहेको उक्त फिल्ममा अञ्जिलाले आफैं शीर्ष भूमिका निभाएकी छन्। सार्वजनिक टिजरमा उनको संघर्ष, फुटबलप्रतिको समर्पण र सफलतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतकाे कलाकारको अभिनय रहेको फिल्मको छायांकन इलाम, झापा र काठमाडौंमा गरिएको हो।
चलचित्रमा प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्मका निर्देशक मिलन चाम्सले अञ्जिलाको जीवनबाट प्रेरणा लिएर चलचित्र निर्माण गरिएको बताउँदै भने, “यो फिल्मले नेपाली फुटबलप्रेमीहरू मात्र होइन, हरेक दर्शकलाई प्रेरित गर्नेछ। अञ्जिलाको संघर्षको कथा नयाँ पुस्ताका खेलाडीहरूका लागि मार्गदर्शन बन्नेछ।”
अञ्जिला तुम्बापो सुब्बाले १३ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी थिइन्। उनले सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय खेल यात्रा सुरू गरेकी हुन्। सुरुवाती दुई वर्ष बेन्चमै सीमित भए पनि, पछि उनी महिला राष्ट्रिय फुटबल टिमको मुख्य गोलरक्षक बनिन्।
उनले ओलम्पिक क्वालिफाइङको दोस्रो चरणसम्म पुग्ने पहिलो नेपाली महिला गोलरक्षक हुने गौरव हासिल गरेकी छन्। साथै, उनले एसियन गेम्स, हिरो गोल्ड कप, साफ च्याम्पियनसिप लगायतका प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। उनले पाकिस्तान लिगमा गोलरक्षक भएर पनि दुई गोल गर्ने पहिलो खेलाडी बनेर इतिहास कायम गरेकी थिइन्।
फिल्म निर्माण टिमका अनुसार ‘अञ्जिला’ विशेष प्रदर्शन गरिनेछ र देशका विभिन्न ठाउँहरूमा रिलिज गरिनेछ। निर्माता श्रेष्ठका अनुसार अञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरित गर्नेछ, विशेष गरी नेपाली युवाहरूलाई आफ्ना सपना पूरा गर्न थप हौसला मिल्नेछ।