पूर्व र पोखराका पर्यटन व्यवसायीहरु अनुभव साट्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

इटहरी । जाउँ है पोखरा र जाउँ है कोशी भन्दै मंगलबार सुनसरीको इटहरीमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ ।
जाउँ है पोखरा अभियान लिएर पूर्व पुगेको होटल संघ पोखरा नेपालको टोलीलाई सुनसरी र बिर्तामोडमा स्वागत गरिएको थियो । नेपाल सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेको र भिजिट पोखरा इयर २०२५ पनि चलिरहेको सन्दर्भमा पूर्व र पोखराका व्यवसायी हातेमालो गरेर अगाडि बढ्न एकमत देखिएका छन् ।

घुमौं कोशी भन्दै इटहरी उद्योग वाणिज्य संघ र जाउँ है पोखरा भन्दै होटल संघ पोखरा नेपालले इटहरीमा संयुक्त कार्यक्रम आयोजना गरेका थिए । विगतमा पोखरा र भद्रपुर जोड्ने गरि सुरु भई स्थगीत हुन पुगेको हवाई उडान सेवा पुनस् सुचारु गर्नु पर्ने सुझाव दुबै कार्यक्रममा पूर्वका व्यवसायीले राखेका थिए ।

कोशी प्रदेशका पर्यटन, बन तथा वातवरण मन्त्री षडानन्द मण्डलले पर्यटन प्रबर्द्धनमा मिडियाको भूमिका अहं हुने भनाई राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीले पोखराले पर्यटनमा कसरी प्रगती गर्न सफल भयो भन्ने विषयमा अनुभव बाँडे ।

कोशी प्रदेशका सांसद मिना श्रेष्ठले कोशीमा विश्वको अग्लो सगरमाथादेखी नेपालको होचो स्थान रहेको स्मरण गराउँदै पर्यटनका लागि प्रबर्द्धन जरुरी भएको भनाई राखिन् । इटहरी उद्धोग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले पूर्वका पर्यटकीय सम्पदाको प्रचारप्रशार जरुरी भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का विज्ञ सल्लाहकार दिपेन्द्र पहारीले पोखराका पर्यकीय सम्पदाका बारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिए ।

यसैगरी मंगलबार नै बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यबाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले झापाका पर्यटकीय सम्पदा र सेवा सुविधाका बारे अवगत गराएका थिए । विविध जातजाती, उनीहरुको पहिरन र खानाका हिसावमा झापा र सिंगो कोशी प्रदेश धनी रहेको उनले स्मरण गराए ।

आयोजक संघका अध्यक्ष सुवेदीले नेपाल आउने पर्यटक मध्ये ४० प्रतिशत पर्यटक पोखरा पुग्ने गरेको जानकारी दिंदै अहिले पोखराको पर्यटनमा आन्तरिक पर्यटकको हिस्सा पनि ४० प्रतिशत हाराहारी नै रहेको अवगत गराए । नेपालमै पहिलोपटक पोखरामा बलुन फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी गराए ।आन्तरिक पर्यटकलाई पोखरेली पर्यटनकर्मीले ठूलो महत्व दिएको भन्दै उनले पूर्वका बासिन्दालाई पोखरा भ्रमणका लागि आग्रह गरे ।

कार्यक्रममा कतिपय सहभागीले पोखराले वातावरण र प्राकृतिको संरक्षणमा जोड दिनुपर्ने सुझाव राखेका थिए । झापा र सिंगो कोशी प्रदेशका धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदाका बारेमा समेत सो अवसरमा अवगत गराइएको थियो । झापाका पर्यटकीय क्षेत्रको भ्रमण गर्न झापाका ब्यबसायीले पोखरेली ब्यबसायीलाई आव्हान गरेका थिए । उनीहरुले झापाबाट पोखरासम्म स्तरीय बस सेवा संचालन र पहिला सुरु गरि हाल स्थगित रहेको हवाई सेवालाई पुनस् सुचारु गर्नु पर्ने सुझाव पनि राखे ।

सो अवसरमा कोशी भ्रमण वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठ, होटल ब्यबसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेस्ठ, नेपाल उद्धोग वाणिज्य महासंघका केन्द्रिय सदस्य भीष्म खरेल, बन्दिपुर केवलकार प्रालिका उपाध्यक्ष किरण पोखरेल र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले भनाई राखेका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष गणेशराज पहारीले अभियानबारे जानकारी दिंदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् । नेपाल पर्यटन बोर्ड गण्डकीले जाउँ है पोखरा अभियानको प्रबर्द्धन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्