
पोखरा । नेपाल-अस्ट्रिया पर्यटन सम्बन्धलाई सशक्त बनाउन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले अस्ट्रियन विद्यार्थीहरूलाई स्वागत गरेकाे छ ।
अस्ट्रिया विश्वविद्यालयका विद्यार्थीहरूसहभागी उक्त कार्यक्रममा संस्कृति आदानप्रदान, वातावरणीय जागरूकता, र शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा टान गण्डकीका कार्यवाहक अध्यक्ष तथा प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले नेपाल पर्यटनका अपार सम्भावनासहितको देश भएकाे बताउँदै यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र स्थानीय समुदायको आतिथ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेकाे बताए । नेपाल र अस्ट्रियाबीचको पर्यटन तथा शैक्षिक सहकार्य अझ बलियो बनाउन आफूहरु प्रतिबद्ध रहेकाे उल्लेख गरे ।
टानका निवर्तमान अध्यक्ष (आईपीपी) धर्मराज पन्थीले संस्थाको पृष्ठभूमि, पर्यटन क्षेत्रमा टानको महत्त्वपूर्ण भूमिका, र नेपालको पर्यटनको फराकिलो सम्भावनाबारे प्रकाश पारे । “टानले साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई मजबुत बनाउने काम गरिरहेको छ।” उनले भने-“विद्यार्थीहरूलाई पर्यटन उद्योगको वास्तविकता बुझ्न र दिगो पर्यटनको महत्त्वको अनुभव लिन यस्ता कार्यक्रमहरू प्रभावकारी हुन्छन्।”
उनले विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगका अवसर र चुनौतीबारे जानकारी प्रदान गरे।
टान गण्डकीका सहसचिव भूपेन्द्र कुमार लामाले विद्यार्थीहरूका लागि नेपाललाई प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर सिर्जना गर्नु आफूहरुकाे उद्देश्य रहेकाे बताए । टान गण्डकीले पर्यटन प्रवर्द्धनसँगै शैक्षिक सहकार्यलाई जोड्दै अन्तर-सांस्कृतिक समझदारीलाई बलियो बनाउने कार्य गर्दै आएको उनले जानकारी गराए ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले नेपालका पर्यावरणीय विविधता, सांस्कृतिक समृद्धि, र पर्यटन प्रवर्द्धनका अवसरहरूबारे जानकारी प्राप्त भएकाे बताएका थिए ।
यो पहलले नेपाल र अस्ट्रियाबीचको पर्यटन सहकार्यलाई बलियो बनाउँदै दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई उजागर गरेको छ।
टान गण्डकीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू गर्द अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सहकार्य विस्तार गर्ने योजना बनाएको छ।