
पोखरा । पोखराबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान चैत ५ गतेदेखि सुरु हुँदैछ। सिचुआन एयरलाइन्सको चार्टर्ड उडानमार्फत १२७ जना चिनियाँ पर्यटक पोखरा आउनेछन् भने सोही दिन १२ बजे १२७ नेपाली पर्यटन व्यवसायी, सरकारी प्रतिनिधि र उद्योगी-व्यवसायी छेन्दु प्रस्थान गर्नेछन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्णरूपमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्न सक्षम भइसकेको बताए उनले भने, ‘पोखरा-छेन्दु उडान पर्यटन प्रवर्द्धनका लागि मात्र नभई दुई शहरबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसर पनि हो। विमानस्थलको सेवा चौबीसै घण्टा सञ्चालनमा रहेकाले अब अन्तर्राष्ट्रिय उडानहरू थप सहज हुनेछन्।’
चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले पहिलो अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएकोमा बधाई दिँदै निरन्तरता दिन स्थानीय निकाय र पर्यटन संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताए। पोखरा चिनियाँ पर्यटकहरूको प्रमुख गन्तव्य बन्न सक्ने बताउँदै उनले स्थानीय सरकार, पर्यटन व्यवसायी र सम्बन्धित निकायहरूबीच अझ गहिरो सहकार्य आवश्यक रहेकाे बताए ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडान केन्द्रका रूपमा विकास गर्न थप सहकार्य आवश्यक रहेको बताए। उनले विमानस्थल सञ्चालन मात्र होइन, थप अन्तर्राष्ट्रिय गन्तव्यहरू सुनिश्चित गर्ने काम प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जाेड दिए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारणाथ पहारीले अनुसार पहिलो चरणमा तीन महिनासम्म करिब १,२५० चिनियाँ पर्यटक पोखरा ल्याउने लक्ष्य राखिएको बताए। उनले भने, ‘सुरुमा चार्टर्ड उडान मात्र रहने भए पनि क्रमशः यसलाई नियमित अन्तर्राष्ट्रिय उडानमा परिणत गर्ने योजना छ।’
पहिलो उडानमा सहभागी नेपाली टोली आठ दिने भ्रमणका लागि छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ जानेछ। भ्रमणका क्रममा पर्यटन पूर्वाधार, व्यवस्थापन र सम्भावित सहकार्यबारे अध्ययन गरिनेछ। साथै, चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पत्रकारहरूको यात्रा खर्चको ५०% सम्म सहयोग गर्ने निर्णय गरेको छ। पहिलो उडानका लागि प्याकेज लागत १ लाख १३ हजार रुपैयाँ तोकिएको छ, जसमा व्यक्तिगत खर्च समावेश छैन। दोस्रो उडानमा पर्यटन व्यवसायीहरू, तेस्रो उडानमा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुनेछन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा गण्डकी प्रदेशको पर्यटन व्यवसाय प्रभावित भइरहेको थियो। अब पोखराबाट अन्तर्राष्ट्रिय यात्राको ढोका खुलेसँगै पर्यटन, व्यापार, र दुई देशबीचको सम्बन्ध मजबुत पार्ने अपेक्षा गरिएको छ।
सरकारी, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यले विमानस्थललाई स्थायी अन्तर्राष्ट्रिय उडान केन्द्रमा परिणत गर्ने विश्वास गरिएको छ।