
पोखरा । होलीको उत्सव पोखरामा यस वर्ष रंगीन बन्यो। कोमागाने पार्कमा आयोजित ‘होलील्यान्ड’ कार्यक्रमले पाेखराकाे हाेलीलाई थप रंगीन बनाएकाे हाे ।
साे कार्यक्रममा २५ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागिता देखियो, जसले संगीत, नृत्य र उत्साहको माहोललाई उचाइमा पुर्यायो।
प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको कार्यक्रम बिहान ११ बजेदेखि साँझसम्म जारी रह्यो। डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडे जस्ता चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुतिले दर्शकलाई झुमायो। कार्यक्रमको स्टेज हाइपर बकबक (विवेक गुरुङ) ले माहोललाई ऊर्जा प्रदान गरे।
होलील्यान्डमा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्ल्याश, खानाका स्टलहरू र प्रत्यक्ष साङ्गीतिक प्रस्तुतीकरणहरूले दर्शकलाई थप रोमाञ्चित बनायो। कार्यक्रम होस्ट यकिन गुरुङले दर्शकसँग कुराकानी गर्दै समग्र माहोललाई जीवन्त बनाएका थिए।
दर्शकको ठूलो उपस्थितिले आगामी कार्यक्रमहरू अझ भव्य बनाउन हौसला प्रदान गरेको स्पेक्स फोर्टिनका सञ्चालक महेश्वरसिंह भण्डारीले बताए ।
हालैका वर्षहरूमा पोखरा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको केन्द्र बन्दै गएको छ। प्रचार नेपालले यसअघि भ्यालेन्टाइन डेको ‘द एज ब्यान्ड’ र ‘स्वर’ को कन्सर्ट, चर्चित गायक सज्जनराज वैद्यको प्रस्तुति, तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सबिन राई एण्ड फेरोह, पूर्ण राई, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्ते सम्मका कन्सर्टहरू आयोजना गरिसकेको छ।
यस वर्षको होली उत्सवले पोखरालाई रङ्गीन पर्व मनाउने नयाँ केन्द्रको रूपमा स्थापित गरेको छ। भविष्यमा होलील्यान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना रहेको आयाेजककाे याेजना छ ।
संगीत, रङ्ग, र उमंगको यो अनुपम समागमले पोखराको होली उत्सवलाई भव्य मात्र होइन, ऐतिहासिक पनि बनाएको छ।
बाराही घाटमा आयोजना गर्ने योजना रहेकाे साे कार्यक्रम, अन्तिम समयमा आएर कोमागाने पार्कमा सार्नुपरेपनि दर्शकको अपार साथले कार्यक्रमलाई झन् भव्य बनाएकाे छ ।