
पोखरा । स्याङ्जाका दलित महिला जनप्रतिनिधिहरुले नेतृत्व बिकासमा जोड दिनुपर्ने बताएका छन । जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरूलाई लक्षित गरी नेतृत्व विकास कार्यक्रममा बोल्ने बक्ताहरुले नेतृत्व बिकासमा जोड दिनुपर्ने बताएका हुन ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा गरिएको कार्यक्रममा पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सिताकुमारी सुन्दासले जातीय र लैङ्गिक विभेद नै समाजको विकास र समृद्धिको मुख्य बाधक भएको बताउँदै, दलित महिला जनप्रतिनिधिहरूले आफ्नो क्षमता अभिवृद्धि गरी सामाजिक जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम जिल्ला समन्वय उपप्रमुख खडकराज सुवेदीले कुनै पनि विभेद अन्त्य गर्दै दलित महिलाहरूको बहुआयामिक क्षेत्रमा सक्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले सिमान्तकृत समुदायको सशक्तिकरण र आयआर्जनमा टेवा पुर्याउने नीति निर्माण गर्दै समन्वयात्मक रूपमा दलित समुदायको क्षमता विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दलित महिलाका हक अधिकारबारे कानूनी जानकारी गराउँदै सामाजिक विकृति अन्त्य गर्न सचेतना अभियानको आवश्यकतामा जोड दिनुभयो।त्यसैगरी अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङले सामाजिक न्याय र समानताको लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा स्याङ्जा जिल्लाका स्थानीय तहका दलित महिला वडा सदस्यहरू र कार्यपालिका सदस्यहरू सहित करिब १०० जनाको उपस्थिति रहेको थियो।
आज सन् २०२५ मार्च २० गते बिहीबारका दिन विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस् तथा कान्तिपुर दन्त अस्पतालद्वारा मुख स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरियो। “A Happy Mouth is a Happy Mind” भन्ने नारासहित जनचेतनामूलक ¥याली पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडबाट सुरु भई सभागृह, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै पुनः संस्थाको प्रांगणमा पुगेर सम्पन्न भएको थियो।
यस ¥यालीमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस्का विद्यार्थीहरू तथा स्वास्थ्यकर्मीहरूले मुख स्वास्थ्यको महत्त्वबारे नारा लगाउँदै समाजमा सचेतना फैलाएका थिए। कार्यक्रममा मुख तथा दन्त स्वास्थ्यका विषयमा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरियो।
समाज रूपान्तरणको लागि जातीय विभेदको अन्त्य र स्वास्थ्य सचेतना दुबै महत्वपूर्ण पक्ष भएको भन्दै, यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने आयोजकहरूले बताएका छन्।