तेस्रो ए.वि.सी. राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता पोखरामा, विजेताले १ लाख ५५ हजार रुपैयाँ पाउने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । तेस्रो ए.वि.सी. राष्ट्रिय ८-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता पोखरामा आयोजना गरिने भएको छ। अमरसिंह ब्वाइज क्लब (ए.वि.सी.) द्वारा आयोजित प्रतियोगिता चैत्र २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा बाह्र टिमको सहभागिता रहने आयाेजक  अमरसिंह ब्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले बताए । उनका अनुसार प्रत्येक टिममा आठ खेलाडी अनिवार्य रहनुपर्नेछ । जसमा चार जना ४५ वर्षभन्दा माथि र चार जना ५० वर्षभन्दा माथि समावेश गर्नुपर्नेछ। सहभागी टिमहरूले दश हजार रुपैयाँ शुल्क तिरेर प्रतियोगितामा भाग लिन सक्नेछन् ।

प्रतियोगितामा विजेता टिमले १ लाख ५५  हजार रुपैयाँ, शिल्ड र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ७१ हजार ७ सय रुपैयाँ जित्नेछ। खेल अवलोकन गर्न आउने दर्शकहरूका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको आयाेजकले पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।

 प्रतियोगिताले भेट्रान्स खेलाडीहरूको खेलमा निरन्तर सहभागिता सुनिश्चित गर्दै उनीहरूको अनुभवलाई सम्मान गर्ने अवसर प्रदान गर्नेछ अध्यक्ष गुरुङकाे विश्वास छ ।

सुरक्षा संयोजक दीपक थापाले खेलकुदले समाजमा पार्ने सकारात्मक प्रभावबारे जोड दिँदै भेट्रान्स फुटबल खेलाडीहरूको योगदान सधैं प्रेरणादायी रहेको बताए।

२०५४ सालमा स्थापना भएको अमरसिंह ब्वाइज क्लब फुटबल प्रतियोगिता आयोजनासँगै समाजसेवा, छात्रवृत्ति, विपद् उद्धार तथा राहत कार्यमा पनि सक्रिय रूपमा काम गरेकाे छ । भेट्रान्स खेलाडीहरूको शारीरिक सक्रियता कायम राख्न र नेपाली फुटबलको निरन्तरता सुनिश्चित गर्न क्लबले यस्ता प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्