राष्ट्रिय भेट्रान ब्याडमिन्टन प्रतियोगिता पाेखरामा हुने , विजेतालाई ५० हजार रुपैयाँ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा रंगशालामा भेट्रान खेलाडीहरूका लागि ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। लायन्स ग्याल्पो लामा स्मृति राष्ट्रिय भेट्रान ब्याडमिन्टन प्रतियोगिता आउदाे १६ र १७ गते पाेखरामा हुने भएकाे हाे । लायन्स क्लव अफ पोखरा अन्नपूर्णको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलनबाट जानकारी गराएकाे हाे ।

प्रतियोगिता संयोजक तथा लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्मरसिंह गुरुङले प्रतियोगिताले खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने बताए । उनले भने-‘ब्याडमिन्टन खेल मात्रै होइन, यसले शारीरिक तन्दुरुस्ती बढाउने, मानसिक रूपमा सक्रिय राख्ने र सामाजिक सद्भाव कायम राख्ने भूमिका खेल्छ।’ उनले भेट्रान खेलाडीहरूलाई खेलप्रति उत्साहित बनाउन प्रतियोगिता आयोजना गर्दै आएकाे बताए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छविले विगत १९ वर्षदेखि ‘स्वास्थ्यका लागि खेलकुद, सेवाका लागि स्वास्थ्य’ भन्ने नारासहित ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएकाे बताए । यसले खेलाडीहरूलाई पुनः सक्रिय बनाउने र नयाँ पुस्तालाई खेलप्रति प्रेरित गर्ने लक्ष्य राखेको उनकाे भनाई छ ।

प्रचारप्रसार संयोजक दूधमान गुरुङ आशिषले प्रतियोगिताले शारीरिक तन्दुरुस्ती र खेलाडीहरूबीच भाइचारा, राष्ट्रिय एकता र शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको बताए ।

४५ वर्ष माथिको डबल्स विजेताले ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुने दुई टिमलाई १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ५५ वर्ष माथिको डबल्सतर्फ पहिलो हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २५ हजार तथा तेस्रो हुने दुई टिमलाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयाेजकले जनाएकाे छ।

महिला डबल्सतर्फ पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई टिमलाई ८/८ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

४५ वर्ष माथिको मेन्स डबल्स, ५५ वर्ष माथिको मेन्स डबल्स र महिला डबल्स गरी तीन विधामा खेल सञ्चालन हुनेछ। करिब ७० टिम सहभागी हुने अनुमान आयाेजककाे छ। पुरुष खेलाडीका लागि ३ हजार र महिला खेलाडीका लागि २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। खेलाडीहरूले चैत १४ गतेसम्म टिम दर्ता गराउन सक्नेछन्।

यस वर्षको प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयाेजकले जनाएकाे छ भने ४४ हजार रुपैयाँ बचत हुने अपेक्षा आयाेजककाे अपेक्षा छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्