चिनियाँ पर्यटकलाई नेपालका हिमाली क्षेत्रमा आकर्षित गर्न टान गण्डकीद्वारा छलफल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल र चीनबीचको पर्यटन प्रवर्द्धनलाई अझ मजबुत बनाउन पोखरामा महत्वपूर्ण छलफल भएकाे छ । नेपाल र चीनका पर्यटन व्यवसायीहरू सहभागी साे छलफल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आयोजना गरेकाे हाे ।

छलफलमा चिनियाँ पर्यटकलाई नेपालका हिमाली गन्तव्यतिर आकर्षित गर्न, पोखरालाई पर्वतीय पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको बसाइ लम्ब्याउने र यहाँको सुरक्षा र सेवासुविधा सुधार गर्ने विषयमा छलफल भएकाे छ ।

पोखरा–छेन्दु हवाई उडानलाई दीर्घकालीन बनाउनका लागि रणनीति तय गर्ने, नेपाल र चीनबीचको पर्यटन सहकार्यलाई अझ मजबुत बनाउन संयुक्त प्रचार अभियान सञ्चालन गर्ने कुरा छलफल केन्द्रित रह्याे ।

छलफलमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा नेपालकै प्रमुख पर्यटकीय केन्द्र भएकाे बताउँदै यहाँबाट हिमाली गन्तव्यहरूमा सहज पहुँच भएकाले पर्वतीय पर्यटन प्रवर्द्धनको अपार सम्भावना रहेकाे बताए ।

उनले चीनले गण्डकी क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने रणनीति बनाएको बताउँदै, जसले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

पोखरालाई ट्रान्जिट हबको रूपमा विकास गर्न सकेमा यात्रुहरूको बसाइ अवधि (लेन्थ अफ स्टे) बढाउन सकिने र स्थानीय पर्यटन उद्योगलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने उनकाे विश्वास छ ।

‘नेपाल र चीनबीचको पर्यटन प्रवर्द्धनलाई दिगो बनाउन नियमित उडानहरू आवश्यक छन् । ‘ उनले पोखरा–छेन्दु (सिचुआन) उडानलाई दीर्घकालीन रूपमा कायम राख्नुपर्नेमा जोड दिँदै भने-‘पोखरालाई गन्तव्यका रूपमा स्थापित गर्न नेपाल सरकारले पनि नीति निर्माणमा सहयोग पुर्याउनुपर्छ तथा स्थानीयहरूको फ्यामिली तथा व्यावसायिक भिजिट पनि गर्न आवश्यक छ।’

सिचुआन ट्राभल सर्भिस एसोसिएसनका महाप्रबन्धक यान चेन्चुङ्गले नेपाल–चीन पर्यटन साझेदारीलाई अझ विस्तार गर्न प्रतिबद्धता जनाए। उनले भने-‘नेपाल हाम्रो लागि विशेष पर्यटन गन्तव्य हो। चिनियाँ पर्यटकहरू विशेष गरी अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न रुचाउँछन्। तसर्थ, टान गण्डकीसँग प्रत्यक्ष सहकार्य गर्दै पर्वतीय पर्यटनलाई प्रवर्द्धन गर्ने योजना बनाएका छौं।’

उनले नेपाल भ्रमण वर्ष २०२५ (Visit Nepal 2025) लाई सफल बनाउन चीन सरकारले आवश्यक सहयोग गर्ने बझाए । ‘नेपाल–चीनबीचको पर्यटन सम्बन्ध अझै सुदृढ बनाउन चाहन्छौं।’ उनले थपे-‘हामी व्यवसायिक भ्रमण मात्र होइन, सांस्कृतिक तथा पारिवारिक भ्रमणहरूलाई पनि प्राथमिकता दिनेछौं। नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धनमा हाम्रो निरन्तर समर्थन रहनेछ।’

छलफलमा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठ, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी,टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदी, टान गण्डकीका सचिव गोपाल कृष्ण संग्रौला, टान गण्डकीका कोषाध्यक्ष दिपक प्रसाद सापकोटा, टान गण्डकीका सदस्य अजय राज अधिकारी, टान गण्डकीका सदस्य भूपेन्द्र गौतम र अन्य सदस्यहरूको पनि उपस्थिति थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्