पोखरामा ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित  मनाइने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने मूल नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस पोखरामा भव्य रूपमा मनाइने भएको छ। जिल्ला सहकारी संघ कास्कीको आयोजनामा चैत १४ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दीपकराज बाँस्तोलाले दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन विस्तृत तयारी भइरहेको जानकारी गराए। दिवस सफल बनाउन ७०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

चैत १४ गते पत्रकार सम्मेलनबाट दिवसको औपचारिक सुरुवात हुनेछ। चैत १५ गते पोखरा पार्टी प्यालेसमा बुद्धिचाल प्रतियोगिता, चैत १६ गते बुद्धिचाल प्रतियोगिताको अन्तिम चरण तथा निबन्ध प्रतियोगिता आयोजना गरिनेछ।

चैत १७ गते सहकारीप्रति जनचेतना फैलाउने उद्देश्यले साइकल र्‍याली निकालिनेछ। चैत १८ गते रक्तदान कार्यक्रम आयोजना गरिँदैछ भने चैत १९ गते सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरिनेछ।

चैत २० गते मानव अधिकार चोकमा भेला भई प्रभातफेरी गरिनेछ। त्यसपछि पोखरा सभागृहमा विशेष समारोहको आयोजना गरिनेछ, जसमा सहकारी उत्पादन प्रदर्शनी, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा साँझ दीपावली गरिनेछ।

सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, कृषि सहकारी संघ, उपभोक्ता सहकारी संघ, पोखरा महानगर सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन, सि.एम.सि. कास्की, कोप्स, प्रारम्भिक सहकारी संस्थाहरू लगायतका संघसंस्थाहरूको सहभागिता रहनेछ।

सहकारी दिवसका अवसरमा लामो समयदेखि सहकारी क्षेत्रमा योगदान पुर्‍याएका अभियन्ता तथा अग्रजहरूलाई सम्मान गरिनेछ। सहकारी उत्पादनलाई प्रवर्द्धन गर्न पोखरा सभागृहमा सहकारी उत्पादन तथा सेवाहरूको प्रदर्शनी आयोजना गरिनेछ।

हाल सहकारी क्षेत्रमा केही वित्तीय अनियमितता देखिएको छ। जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपकप्रकाश आचार्यका अनुसार कास्कीमा चारवटा सहकारी संस्थाको रकम हिनामिना भएको छ भने केही अन्य सहकारी संस्थाहरू पनि समस्याग्रस्त अवस्थामा रहेका छन्।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले करिब ७ सय सहकारीमध्ये केही संस्थाहरूको रकम बाहिरी जिल्लाका व्यक्तिहरूले हिनामिना गरेको बताए। सहकारी क्षेत्रप्रति विश्वास बढाउन पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

सहकारी संघहरूले यस्ता समस्याहरू समाधान गर्न मेलमिलाप प्रयासहरू अघि बढाइरहेका छन्। सहकारी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा सहकारी क्षेत्रका हालका चुनौती, सुधारका उपाय तथा भावी रणनीतिबारे छलफल गरिनेछ।

सहकारी संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन सहकारी दिवसलाई अवसरका रूपमा उपयोग गरिनेछ। सहकारी अभियानलाई व्यवस्थित बनाउँदै यसको प्रभावकारिता बढाउन सरकारी तथा गैरसरकारी निकायहरूबीच निरन्तर समन्वय आवश्यक रहेको सहकारी संघका पदाधिकारीहरू बताउँछन्।

६८औं राष्ट्रिय सहकारी दिवस पोखरामा भव्य रूपमा मनाउने तयारी भएसँगै सहकारी अभियानलाई थप मजबुत बनाउने पहल भइरहेको छ। सहकारी संस्थाहरूले आर्थिक स्थायित्व, पारदर्शिता तथा सशक्तिकरणका लागि थप जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता देखिएको छ। सहकारी दिवसले सहकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्