
पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा आगामी चैत १६ गते पोखरामा आयोजना गर्न लागिएको छ। महासंघले पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै सभाका प्रमुख एजेन्डा र सहभागीहरूको बारेमा जानकारी दिएको हो।
महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीका अनुसार, उक्त सभा कार्यक्रममा ७ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासंघका ८० जिल्ला/नगर इकाइ, १ वस्तुगत संघ र २२ एशोसिएट सदस्यसहित अन्य अतिथिहरू पनि उपस्थित हुनेछन्।
साधारण सभाको औपचारिक उद्घाटन नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुनेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनेछन्।
साधारण सभामा महासंघका प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी योजनाबारे पनि गहन छलफल गरिनेछ। यस अवसरमा महासंघको विधानलाई थप समसामयिक, व्यवहारिक र प्रभावकारी बनाउन तेस्रो संशोधन पनि प्रस्ताव गरिनेछ।
साधारण सभाको अन्त्यमा ‘पोखरा घोषणापत्र’ सार्वजनिक गरिनेछ, जसले सुनचाँदी व्यवसायलाई मर्यादित, प्रतिस्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउन मार्गनिर्देशन गर्नेछ।