
पोखरा । राजधानीको तीनकुनेस्थित एक घरमा भएको आगलागीका क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको छ।
राजावादी आन्दोलनका क्रममा भएको उग्र प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी बसेको आशंकामा सो भवनमा आगो लगाएका थिए। आगलागीपछि सोही भवनमा रजक जलेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। प्रत्यक्षदर्शीहरूका अनुसार उनी घटनास्थलबाट भिडियो खिचिरहेका थिए।
प्रहरीका अनुसार आगलागीपछि भवनभित्र रहेका रजक निस्किन नसकेको आशंका गरिएको छ। उनी मृत अवस्थामा फेला परेका थिए भने उनको शरीर अत्यधिक जलेको कारण पहिचान गर्न मुस्किल परेको थियो। प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
यस घटनाले पत्रकारिता क्षेत्रमा खतराको संकेत गरेको भन्दै पत्रकार महासंघ लगायतका संस्थाहरूले सत्यतथ्य छानबिनको माग गरेका छन्। साथै, पत्रकारहरूको सुरक्षाका लागि सरकार र सम्बन्धित निकायहरूले आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।