चैत २३ देखि पोखरामा केपी ओली कप टी–२० क्रिकेट, विजेतालाई १० लाख

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा यही चैत २३ गतेदेखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधित्वसहित १२ टिम प्रतिस्पर्धा गर्नेछन्।

शनिबार पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पोखराको क्रिकेट विकास र खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताए। प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख, उपविजेताले रु ५ लाख, म्यान अफ द सिरिजले रु ३० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही रु १० हजार, तथा म्यान अफ द म्याचले रु ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। रकम राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, स्थानीय तह, विभिन्न संघसंस्था र शुभेच्छुकबाट संकलन गरिने आयोजकले जनाएको छ।

‘सबैका लागि खेलकुद’ नाराका साथ आयोजना हुने यो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्