
पोखरा । पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् ।
पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ । १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो । ओपनर आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि स’मित श्रेष्ठले ५३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । अभिनव शाह ३, धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन केसी ४ रनमा आउट भए । स्याङजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम न्यौपानेले २ तथा मिलन लुटेल र किरण भट्टराईले १/१ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । स्याङजा कालागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । इशवर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए । विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६, सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान २/२ विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले १/१ विकेट लिए ।
दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा २० ओभरमा १४० रनमै अलआउट हुन पुग्यो । हेटौडाका लागि सुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।
ओपनर गौरभ खड्का ८ रनमै आउट भए । सुमन सुनार ३८ रनमा आउट भए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । य’विन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा आउट भए ।
काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रम सिंह ठकुरीले समान ३/३ विकेट लिए भने मनोज यादवले २ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले ।
उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे । उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए । रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ, सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १/१ विकेट लिए ।
पोखरामा अन्तर्राष्ट्रिय मैदान बनाउन सके भारत पाकिस्तानको खेल गराउन सकिन्छ : सञ्चार मन्त्री
प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सके भारत– पाकिस्तान लगायत राष्ट्रका खेल खेलाउन सकिने बताए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङले द्वन्द्व, विवाद वा विभिन्न कारणले भारत–पाकिस्तान जस्ता राष्ट्रले अन्य देशमा गएर खेल्नुपर्ने बाध्यता रहेको सुनाउदै त्यस्ता प्रतियोगिता पोखरामा गराउन सम्भव रहेको बताए । एसिया भित्र रहेका भारत–पाकिस्तान विवादका कारण खेल खेल्न बाहिरी राष्ट्र जाने गरेको सुनाउदै त्यस्ता प्रतियोगिता पोखरामा ल्याउन सकिने बताएका हुन । ‘अहिले पाकिस्तान र भारतको बिचमा झगडा हुदा क्रिकेट खेल्न दोस्रो देश जानू परेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता युएइ र कतारमा जान थालेको छ । एसियाको सबै ठाउँमा इस्ट एसिया होला वा साउथ एसिया सबै ठाउँमा त्यही छ ।
भौगोलिक रुपमा यो सुन्दर ठाउँ छ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन सक्यौ भने त्यस्ता राष्ट्रहरु जो आफ्नो देशमा खेल्न मान्दैनन् उनिहरुलाई पोखरा ल्याउन सक्यौ भने नेपालको नाम रहन्छ गण्डकीको नाम रहन्छ र क्रीकेटको पपुलारिटी हुन्छ’ उनले भने, ’ यो वर्ष कति बजेट हाल्छ युवा तथा खेलकुद मन्त्रालय बाट आउला तर, मेरो तर्फबाट मैले के गर्नु पर्छ म पनि पहल गर्नेछु । पोखरामा मेघा स्ट्कचर बनाउन जरुरी छ ।’ पुर्वाधारको अभाव हुदा पनि ठुला प्रतियोगिता गरेकोमा मदन भण्डारी स्पोट्र्स एकेडमीलाई धन्यवाद समेत व्यक्त गरे ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पोखरालाइ क्रिकेटको हब बनाउनुपर्छ भनेर प्रतियोगिताको आयोजना गरेको सुनाए । उनले क्रिकेटमात्र नभइ देश व्यापापि रुपमा विभिन्न खेलकुद प्रतियोगितालाई अघि बढाएको सुनाए ।
खेलले राष्ट्रलाई खेलाडी प्रदान गर्नेमा आफू आशावादी रहेको बताए । खेलकुद व्यवसायीक हुन सकेन भने खेल रहदैन भनेर ठूलो नगद राशी राख्दै खेल खेलेपछी कमाउनु पर्छ र आर्थिक चलायमान हुनुपर्छ भन्ने अभिप्रायले प्रतियोगिताको पुरस्कार राशी समेत आकर्षक राखेको सुनाए ।
यस्तै एकेडेमीली राष्ट्रिय तेक्वान्दो वैशाखमा गर्न लागेको समेत सुनाए । विस २०६६ स्साल पुसबाट एकेडेमीको स्थापना भएको हो ।