
पोखरा । पोखरामा पहिलो पटक प्रथम बिल बहादुर मेमोरियल अन्तरविद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। नेपाल स्पोट्र्स प्लेक्सको इण्डोर हलमा मोहन भूगोल फाउण्डेसनको व्यवस्थापनमा यही चैत २७ गते बुधबारदेखि ३० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता कास्की जिल्ला र गण्डकी प्रदेश स्तरमा आयोजना गरिनेछ।
ब्याडमिन्टन खेलको grassroots (तल्लो तह) बाट विकास गरी पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने अभियानमा टेवा पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयाेजक बिल्स फाउण्डेसनका वरदान ताङ्मे लामाले जनाए।
प्रतियोगितामा तीन मुख्य विधाहरू समावेश छन्। १६ वर्षमुनिका (U-16) छात्र र छात्रा एकलतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुने दुई जनाले जनही ५-५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यो विधा जिल्ला स्तरको हुनेछ। त्यस्तै, १९ वर्षमुनिका (U-19) छात्र र छात्रा एकलतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने दुई जनाले जनही १०-१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
यसैगरी, बी लेभलको गण्डकी खुला डबलतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले जनही १०-१० हजार नगदसहित पुरस्कार प्राप्त गर्नेछन्। U-19 र बी लेभल डबल विधाहरू गण्डकी प्रदेश स्तरका हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ।
फिट नेपालले विगत ४ वर्षदेखि खेलाडी उत्पादनमा जोड दिँदै आएको छ। यस क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू निभा राई र दिलाषा राना जस्ता प्रतिभा जन्माउन सफल भएको ९ डान (तेक्वान्दो) तुलसी गुरुङले बताए।
यो प्रतियोगिता पोखरा क्षेत्रका समाजसेवी स्व. बिल बहादुर गुरुङको स्मृतिमा आयोजना गरिएको हो। बौद्ध अधों सदनका परिकल्पनाकार, गण्डकी धौलागिरी क्षेत्रमा २०२९ सालमा पहिलो पेट्रोलपम्प (हिमालय पेट्रोलियम) स्थापना गर्ने संस्थापक सचिव, विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गुरुङको गत वर्ष (२०८०) चैत २७ गते काठमाडौंमा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको थियो। पोखरा बुद्धचोक निवासी गुरुङले समाजसेवा र उद्यमशीलतामा पुर्याएको योगदानको कदरस्वरूप यो प्रतियोगिताको नामाकरण गरिएको संयोजक भूगोल गुरुङले बताए। “हाम्रो यो प्रयासले पोखरालाई खेल पर्यटनको केन्द्र बनाउन थप मद्दत पुग्नेछ भन्ने विश्वास छ। प्रतियोगिता अवधिभर सहयोग गर्नुहुने सबैमा हामी आभारी छौं,” संयोजक गुरुङले भने।
प्रतियोगिताले खेलाडीहरूलाई ओलम्पिकसम्म पुर्याउने महत्वाकांक्षी योजना बोकेको छ। नेपालमै पहिलो स्पोट्र्स कम्प्लेक्स सञ्चालन गरी ब्याडमिन्टन खेलको वृद्धि र विकासमा योगदान पुर्याउँदै आएको फाउण्डेसनले यो प्रतियोगितालाई विशेष महत्व दिएको छ।